गान्तोक, २० मार्चः वर्ल्ड ओरल हेल्थ डेको अवसरमा आज साथी क्लब सर टाशी नामग्याल सिनियर सेकेन्डरी स्कूलद्वारा घूमपान र सुर्तीजन्य पदार्थहरूको सेवनबाट मुखलाई पुग्ने हानि र यसको गम्भीर समस्याबारे जागरुकता गराउँदै एक सचेतना ऱ्याली निकालियो।
स्कूल परिसरबाट डेवलपमेन्ट एरियासम्म निकालिएको उक्त ऱ्यालीमा कोभिड प्रोटोकल्सलाई ध्यान राखेर सीमित सङ्ख्यामा विद्यार्थी र शिक्षणकर्मीले अंशग्रहण गरेका थिए भने उनीहरूले हात-हातमा ओरल हेल्थसम्बन्धी सचेतनाबारे लेखिएका प्ला-कार्डहरू पनि बोकेका थिए।
ऱ्याली डेवलपमेन्ट एरियाबाट पुनः स्कूलमै फर्केर आएपछि स्कूल परिसरमा सरसफाइ गरिएको थियो।
यसअवसरमा विद्यार्थीहरूले स्कूल वरिपरिका पसलहरूलाई स्कूले विद्यार्थीहरूलाई सिगरेट, सुर्तीजन्य पदार्थ बिक्री नगरिदिने अनुरोध पनि गरे।