तीनवटा विधानसभा क्षेत्रमा हाम्रो जीत निश्चित छः विनय तामाङ

0
1104

दार्जीलिङ, 21 मार्चः विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङ विधानसभा आसनबाट केशवराज पोख्रेल, खरसाङबाट छिरिङ दाहाल र कालेबुङबाट रूदेन लेप्चालाई आफ्नो उम्मेदवार घोषणा गऱ्यो।

दार्जीलिङ पहाड़मा केही दिनअघि नै यी तीनजनाको नाम चर्चामा आइरहेको भए पनि यसमाथि कसैले किटान गरेर भन्न सकिरहेको थिएन, जसमाथि आज पार्टी अध्यक्ष विनय तामाङले अन्तिम मोहर लगाइदिए।

गोजमुमो केन्द्रिय समिति प्रवक्ता केशवराज पोख्रेल दार्जीलिङका एक शिक्षक हुन्, जो वर्ष 2007-देखि नै गोजमुमोमा सामेल भएर राजनीति गरिरहेका छन्।

केशवराज 2017-को आन्दोलनपछि विनय तामाङपन्थी गोजमुमोमा छन् भने २०१९-मा उनलाई पार्टीका केन्द्रिय समिति प्रवक्ता बनाइएको हो।

यसरी नै गोर्खा जनमुक्ति नारी मोर्चा अध्यक्षा छिरिङ दाहाल विगतमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चामा थिइन् भने गोजमुमो एउटै हुँदा उनी गोजमुमोमा सामेल भएकी थिइन्।

गोरामुमोमा रहेको समय नै अर्थात् 1995-देखि 2008-सम्म उनी पञ्चायत प्रधान पनि बनेकी थिइन्।

2017-को आन्दोलनपछि गोजमुमो दुई भागमा विभाजन भएपछि उनी विनय तामाङपन्थी गोजमुमोमा सामेल भएकी थिइन्, जसलाई आज पार्टीले खरसाङ आसनबाट उम्मेदवार बनाएको पार्टी अध्यक्ष विनय तामाङले घोषणा गरे।

मङ्पूको खेल मैदानमा आयोजित एक कार्यक्रममाझ पार्टी अध्यक्ष तामाङले पार्टी उम्मेदवारहरूको घोषणा गरेका हुन्।

यसैबीच, कालेबुङबाट पार्टीले रूदेन लेप्चालाई उम्मेदवार बनाएको छ।

रूदेन लेप्चा पार्टीका केन्द्रिय समिति नेता हुन्।

वर्ष 2001-मा पञ्चायत सदस्य रहेका रूदेन लेप्चा 2017-देखि राजनीतिमा निकै सक्रिय बनेका हुन्, जो त्यसै समयदेखि पार्टीको कोर कमिटीका एक सदस्य पनि हुन्।

आज मङ्पूको खेल मैदानबाट दार्जीलिङ पहाड़का तीनवटा आसनबाट उम्मेदवारहरूको घोषणा गर्नका साथै पार्टीको 52 बुँदे चुनावी घोषणा-पत्र पनि सार्वजनिक गरियो, जसमा विशेषरूपले आफ्नो जमिनको मालिकाना अधिकार नभएका जनतालाई पर्जा-पट्टा दिलाउने, दार्जीलिङ पहाड़मा महकुमाहरूको बढ़ोत्तरी गरिने, खण्ड विकास क्षेत्रहरूको बढ़ोत्तरी,  ग्राम पञ्चायत अनि पञ्चायत समितिहरूको बढ़ोत्तरीका साथै पहाड़मा 2022-भित्र दुईस्तरीय पञ्चायत चुनाउ गराउने, दार्जीलिङ नगरपालिकालाई नगरनिगमको दर्जा दिलाउने, मिरिक नगरपालिकालाई पूर्ण नगरपालिकाको दर्जा दिलाउने जस्ता मुद्दाहरू सामेल गरिएको छ।

यति मात्रै होइन, गोजमुमोले आफ्नो चुनावी घोषणा-पत्रमा अन्य कैयौं विषयलाई पनि सामेल गरेको छ, जसमाथि पार्टीले आगामी दिनमा ठोस कार्य गर्ने वचन दिएको छ।

अर्कोतिर, अब दार्जीलिङ पहाड़ साथै अन्य स्थानका जनतालाई विमल गुरुङपन्थी गोजमुमो साथै भाजपा वा यसका घटक दलहरूका उम्मेदवारहरूको प्रतीक्षा छ।

विमल गुरुङपन्थी गोजमुमोले आउँदो 23 मार्चका दिन आफ्ना उम्मेदवारहरूको नाम घोषणा गर्ने भएको छ भने भाजपाले पनि पहाड़का तीनवटै आसनमा आफ्नै उम्मेदवार दिने घाइँघुइँ चलिरहेको छ।

यसरी नै क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी, गोरामुमोले पनि अब आ-आफ्नै निर्णय लिने कुराको चर्चाले पहाड़को चुनावी माहोल निकै तात्तिएको छ।

यसैबीच, आज उम्मेदवारहरूको घोषणा गर्ने क्रममा विनय तामाङले आफ्नो पार्टीले पहाड़का तीनैवटा सिट गर्ने ठोकुवा गरे।

“ २०१९-को विधानसभा चुनाउमा पाएको ४३,००० भोट हाम्रो फिक्स्ड डिपोजिट हो। यसमा अझ इन्ट्रेस बढ़ेको छ”, उनले थपे, “तीनवटै विधानसभा क्षेत्रमा हाम्रो जीत निश्चित छ।”

यसका साथै उनले अब आफ्नै खुट्टामा आफ्नै बलबुतमा हिँड़्ने, कसैको सहारामा नहिँड़्ने पनि बताए।

यसैगरी अनित थापाले यसपालिको चुनाउ पहाड़को भविष्य निर्णय गर्ने चुनाउ रहेकाले पार्टी कार्यकर्ताहरू सक्रिय भएर चुनाउ प्रचार गर्न आह्वान गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here