कालेबुङ, २१ मार्चः गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिकी प्रवक्ता अञ्जनी शर्मा भुजेल स्वतन्त्र उम्मेदवारका रूपमा कालेबुङ विधानसभा क्षेत्रबाट चुनाउ लड़्नेछिन्।
आज एक प्रेस विज्ञप्ति जारी गरी सञ्जीव लामाले यसबारे जानकारी गराएका छन्।
‘वर्तमान पहाड़मा चलेको राजनीतिक अकाल, राजनीतिक नेतृत्वहरूका फ्यातुलो अड़ान र विधानसभा चुनाउको उम्मेदवारितामा चलेको खिचातानीमा हाम्रो मूल मुद्दा हराएको पायौँ। राजनीतिक दल र नेतृत्वहरूको अदूरदर्शी क्रियाकलापमा साधारण जनतासँग कुनै विकल्प नै रहेन’, उनले विज्ञप्तिमा भने छन्, ‘यसोसले धेरै दिनको लगातार प्रयासपश्चात हामी हाम्रो मूल मुद्दा छुट्टै राज्य प्राप्तिको दीयो निभ्न नदिन, पहाड़वासीले भोग्न परिरहेका मूलभूत समस्या निवारण गर्न, युवाहरूलाई आत्मनिर्भरताका पूर्वाधारहरू तयारी गर्न, पहाड़को चलिरहेको परम्परागत राजनीतिक कुसंस्करको अन्त गर्न, वंशवादी राजनीति र भाइभतिजावादलाई पूर्ण रूपले निमिट्यान्न पार्नजस्ता महत्त्वपूर्ण विषयमा सबै सचेत जमात नागरिक समाज, राजनीतिक दललाई एकै मञ्चमा ल्याउने प्रयासमा प्रायः सफल भएका छौँ।”
उनले थप भनेका छन्, ‘अझै जातीय मुद्दा र समर्पित शक्तिहरूलाई एकैसाथ ल्याउने प्रकिया जारी रहेको छ। यद्यपि सबै नागरिक समाज अनि सचेत बौद्धिकदेखि साधारण खटिखाने मजदुर, गाडी चालक अनि पढ़ेर/सिकेर सक्षम बनिसक्दा पनि राजनैतिक चेपाचेपको कारण पलायन बनेका युवा जमातहरूसँग विचारविमर्श गरिसकेपछि हामीले यसपालिको विधानसभा चुनावमा स्वतन्त्र उम्मेदवार उतार्ने जमर्को गरेका छौँ, जसमा लगातार रूपमा जाति अनि माटो मुक्तिको सङ्घर्षमा लागिपर्ने युवा/नारी हस्ती अञ्जनी शर्मा भुजेललाई कालेबुङ विधानसभा क्षेत्रबाट जनताका उम्मेदवारको रूपमा खड़ा गर्ने निर्णय लिएका छौं।’
लामाले बताएअनुसार उनीहरूले दार्जीलिङ र खरसाङ विधान क्षेत्रमा पनि लगातार सम्पर्क बनाइराखेका छन्। र सबैको सहमतिमा यी दुइटै विधानसभा सिटबाट हामी जनताको आवाज बनेर यस विधानसभा चुनाउमा प्रतिद्वन्द्विता गर्ने उनको भनाइ छ।
‘हाम्रो प्रयास गोर्खा र पहाडवासी बिकाउ होइनौँ, केन्द्र अनि राज्यले जति नै थिचोमिचो गरे तापनि हामी हर चुनौतीको सामना गर्न सदैव तयार छौं भन्ने सन्देश दिँदै हाम्रो पहाड़को गरिमालाई जोगाइराख्ने पनि हो’, सञ्जीव लामाले थप भनेका छन्, ‘यसोसले अन्य राजनीतिक दलहरूले क्षेत्रीयवादको कुरा गर्दै केन्द्र अनि राज्यको बैशाखीमा हिँड़िरहेको समय हामी सदैव हाम्रो स्वाभिमानलाई बचाइराख्न कटिबद्ध छौं भन्ने सन्देश पनि सर्वसाधारणवर्गलाई दिँदछौँ।‘
यसैबीच, जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै अञ्जली शर्मा भुजेलले गोर्खा जातिको स्वाभिमान र मुद्दालाई बचाइराख्न आफूहरूले चुनाउ लड़्ने निर्णय गरेको बताइन्।
“हामीले हाम्रो मुद्दालाई स्वाभिमानलाई जिउँदो राख्न पर्नेछ। किनभने अहिलेसम्म मुद्दा फत्ते भएको छैन”, उनले थपिन्, “यही मुद्दा र स्वाभिमानलाई बचाउन हामीले चुनाउ लड़्ने निर्णय गरेका हौँ।”