भाजपाले गठबन्धनको धर्म निर्वाह गर्नुपर्छः क्रामाकपा

0
1159

दार्जीलिङ, २१ मार्चः भाजपाले गठबन्धनको धर्म निर्वाह गर्नुपर्ने क्रामाकपाको भनाइ छ।

आज सिङ्ला बजारमा पथ सभालाई सम्बोधन गर्दै क्रामाकपा नेतृत्वहरूले यस्तो बताएका हुन्। यदि भाजपाले गठबन्धनको धर्म निर्वाह नगरेको खण्डमा क्रामाकपाले आफ्नै प्रकारले चुनाउ लड़्ने उनीहरूले बताए।

साथै वक्ताहरूले भाजपाले जनजाति र स्थायी राजनीतिक समाधान मुद्दा आफ्नो सङ्कल्प-पत्रमा राखेकाले क्रामाकपा भाजपासँग गठबन्धनमा रहेको र गठबन्धनको धर्मलाई भाजपाले सटिक रूपमा निर्वाह गर्नुपर्ने स्पष्ट सन्देश दिँदै जनतालाई तयार भएर बसिदिने आह्वान गरे।

क्रामाकपा नेतृत्वहरूका अनुसार उनीहरूको पार्टीको मुद्दा छुट्टै राज्य गोर्खाल्याण्ड, श्रमिकहरूका लागि निम्नतम रोज, पर्जापट्टा, बेकारी समस्या, बन्द बगान खोलिनुपर्नेलगायत पहाड़का सम्पूर्ण समस्याको समाधान रहेको पनि जानकारी गराए।

साथै अहिलेसम्म बन्द अवस्थामा रहेको सिङ्ला चियाकमान खोल्नका लागि राज्य सरकार र जीटीए कसैले पनि पहल नगरेको खेद प्रकट गरियो।

“यहाँका श्रमिकहरू आज बेकारी समस्याले ग्रसित छन्। तर, कसैलाई वास्ता छैन। आज दागोपाप र जीटीएको ३३ वर्षे शासनले गोर्खा जनताका मौलिक आवश्यकताहरू समेत पूर्ण गर्न सकेन। चुनाउ अघि या कुर्सी पाउन अघि जुन अवस्था थियो आज ती नेताहरूले चौकी सम्हालेर ३० वर्ष शासन गरिसक्दा पनि त्यै पानीको पाइप, घरको भित्ता सड़कको खाल्डो देखाएर भोट माग्दैछ” क्रामाकपाका नेतृत्वहरूले थपे, “यो कुरा जनताले बुझ्नुपर्छ। जनतालाई बलिको बाख्रा बनाएर आफ्नो स्वार्थका लागि चुनाउको समयमा मात्र प्रयोग गरिरहेको छ। तर, क्रामाकपाले आफ्नो जन्मकालदेखिनै गोर्खा जातिको हक, अधिकार सम्पूर्ण समस्याको  समाधानहेतु बङ्गालदेखि अलग, छुट्टै राज्यका लागि सङ्घर्ष गर्दै आइरहेका छ। यसैले सिङ्लाको जनताको हामी साथ चाहन्छौँ, जनताको साथ चाहन्छौँ।”

जीबी राईको अध्यक्षतामा सम्पन्न उक्त पथ सभालाई क्रामाकपा केन्द्रिय प्रवक्ता गोविन्द छेत्री, क्रामाकपा सदस्य शेखर छेत्री , अरुण घतानी र सुनिल राई आदिले सम्बोधन गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here