दार्जीलिङ, २३ मार्चः विमल गुरुङपन्थी गोजमुमोले पनि आज दार्जीलिङ पहाड़का तीनवटा आसनबाट आफ्ना उम्मेद्वारहरूको नाम घोषणा गऱ्यो, जसमा दार्जीलिङबाट पीटी ओला, खरसाङबाट नर्बु जी. लामा अनि कालेबुङबाट डा. आरबी भुजेल रहेका छन्।
आज मालिधुरामा एक कार्यक्रमको आयोजन गरी पार्टी अध्यक्ष विमल गुरुङले पहाड़का तीन आसनबाट आफ्ना उम्मेदवारहरूको घोषणा गरे।
साथै खरसाङलाई अति नै संवेदनशील स्थानको पनि संज्ञा दिए।
खरसाङ विनय तामाङपन्थी गोजमुमो महासचिव वा जीटीए अध्यक्ष अनित थापाको गढ़ हो, जसलाई विमल गुरुङले अति नै संवेदनशील स्थान मानेका छन्।
“खरसाङ हाम्रा लागि चुनौतीपूर्ण छ, यहाँ हामीले रात-दिन परिश्रम गर्नुपर्छ’’, गुरुङले भने।
जुन विधानसभा आसनलाई जसरी भए पनि आफ्नो हातमा लिने वा आफ्नो उम्मेद्वारको जीत निश्चित गर्ने पनि उनले प्रतिबद्धता जाहेर गरे।
अर्कोतिर उनले पहाड़का तीनैवटा क्षेत्रमा आफ्नो पार्टीको जीत हुने ठोकुवा पनि गरे।
आजै विमलपन्थी मोर्चाले आज आफ्नो घोषणा-पत्र जारी गरेको छ। घोषणा पत्रमा विमलपन्थी मोर्चाले दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका लागि छुट्टै राज्य गोर्खाल्याण्ड, त्रिस्तरीय पञ्चायत चुनाउ, जनजातिको मान्यता र पर्जापट्टालगायत ३४ वटा मुद्दालाई समावेश गरेको छ।