जन्तर मन्तरमा बङ्गालको अन्याय अत्याचारविरुद्ध कालो झण्डा देखाएर विरोध प्रदर्शन गर्दै विमलपन्थी गोजमुमो कार्यकर्ता। |
दार्जीलिङ, 23 सेप्टेम्बर : आइतवार विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) –को दिल्ली–एनसीआर शाखाले जन्तर मन्तरमा छुट्टै राज्य गोर्खाल्यान्ड मागमा र दार्जीलिङ पहाड़मा पश्चिम बङ्गाल सरकारले गरेको अन्याय अत्याचारको विरोधमा एकदिने धरना प्रदर्शन कार्यक्रम आयोजन गऱ्यो।
बिहान प्रायः 11 बजीदेखि शुरु भएको यो धरना प्रदर्शनमा सहभागी विमलपन्थी मोर्चा कार्यकर्ताहरू गोर्खाल्यान्डको मागमा चर्को लगाएका थिए भने उनीहरूले दार्जीलिङ पहाड़मा गोर्खाल्यान्ड चाहने जनतामाथि बङ्गाल सरकारले अन्याय अत्याचार गरिरहेको घटनाप्रति केन्द्रले चाँड़ो संज्ञान लिनुपर्ने माग पनि गरेका थिए।
धरना कार्यक्रमबारे बोल्दै विमल गुरुङपन्थी गोर्खा जनमुक्ति युवा मोर्चाका कार्यकर्ता समीर थुलुङ राईले बङ्गालको अन्याय अत्याचारविरुद्ध र गोर्खाल्यान्डको मागमा यो धरना कार्यक्रम आगामी आइतवार पनि आयोजन गरिने बताए। “दार्जीलिङमा बङ्गाल सरकारले खुल्ला रूपमा लोकतन्त्र हत्या गर्दैछ। गोर्खाल्यान्ड माग्नेहरूलाई तारो बनाएर अन्याय अत्याचार गर्दैछ”, उनले भने, “हामी बङ्गालको यस्तो गैरकानुनी कारबाहीविरुद्ध अडिग छौं। गोर्खाल्यान्ड संवैधानिक माग हो। केन्द्र सरकारले यसबारे चाँड़ो पहल गर्नुपर्छ।”
उनका अनुसार आज धरना प्रदर्शनमा जुटेका गोजमुमो कार्यकर्ताहरूले कालो झण्डा देखाएर बङ्गाल सरकारको विरोध गरेका थिए। उल्लेखनीय छ, गत9 सेप्टेम्बरको दिन पनि दिल्लीका विमलपन्थी गोजमुमो कार्यकर्ताहरूले जन्तर मन्तरमा बङ्गाल सरकारको अन्याय अत्याचारको विरोध तथा छुट्टै राज्य गोर्खाल्यान्डको मागमा मौन धरना प्रदर्शन आयोजन गरेको थियो।