हटाइयो बोर्ड अव् एड्मिनिस्ट्रेशन, सुरेन्द्र गुप्ता अब जीटीएका प्रशासक

0
1102

दार्जीलिङ, २८ मार्चः राज्य सरकारले जीटीएको बोर्ड अव् एड्मिनिस्ट्रेशन (बीओए)-लाई हटाएको छ। यसका साथै जीटीएका प्रमुख सचिव सुरेन्द्र गुप्तालाई प्रशासकको रूपमा नियुक्त गरिएको छ।

यससम्बन्धमा राज्य सरकारले आज (आइतबार) एक अधिसूचना जारी गरेको छ।

उल्लेखनीय छ, चुनाउ आचार संहिताका कारण जीटीएको बीओएलाई हटाइने सम्भावना अघिबाटै थियो।

केही दिनअघि सिलगढ़ी आएका मुख्य चुनाउ आयुक्त सुनिल अरोड़ाले पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीए बीओएलाई हटाउने सङ्केत दिएका थिए।

जीटीए बीओएलाई हटाइनुपर्ने मागमा दार्जीलिङका सांसद एवं भाजपाका राष्ट्रिय प्रवक्ता राजु बिष्टले चुनाउ आयोगलाई पत्राचार गरेका थिए। जीटीए बीओएलाई नहटाइएमा पहाड़मा निष्पक्ष चुनाउ नहुने बिष्टको आशङ्का थियो।

यसैबीच आज बिहानै अनित थापाले आफूलाई जीटीए बीओएका अध्यक्ष पदबाट हटाउनका लागि अपील गरेका थिए।

उनले भनेका थिए, ‘गत सातादेखि सोशल मिडियामा मलाई जीटीएका अध्यक्ष पदबाट हटाइयो भन्ने हल्ला धेरै सुनेँ। तर आजसम्म मेरोमा मलाई पदबाट हटाइएको कुनै अर्डर आएको छैन। न त मेरो अफिसले त्यस्तो कुनै पत्र नै पाएको छ। तर, मलाई लाग्छ म चुनाउअवधि समयसम्म अध्यक्ष पदमा रहनु हुँदैन। हाम्रो पार्टीले तीनवटा सिट नै जित्ने निश्चित छ। जितेपछि मेरो जीटीए अध्यक्षतामाथि कसैले औंला नउठायोस्।‘

उनले थप भनेका थिए, ‘चुनाउ आयोगले राजनीतिक नियुक्ति भएका नगरनिगमका प्रशासकहरू चुनाउको समयमा अहोदामा नरहेको नै चाहन्छ। म जीटीए माथि पनि यही अनुरूप नै नियम लागू भएको चाहन्छु। म चुनाउ आयोगलाई अपील गर्छु, चुनाउअवधि अर्थात् मई दोस्रो सातासम्मका लागि जीटीएलाई कुनै सरकारी नियुक्त व्यक्तिले चलाओस्। ताकि म हाम्रो पार्टीले उठाएको उम्मेदवारका लागि प्रचार प्रसार गर्न सकूँ।‘

उनले आफू स्वतन्त्र चुनाउको पक्षधर रहेको बताउँदै आफूलाई कुर्सीको लोभ नरहेको पनि दावी गरेका छन्।

‘जनताले नयाँ सोच अनि नयाँ विचारको पार्टीलाई भोट दिएर जिताउने निश्चय गरिसकेका छन्’, अनित थापाले दावी गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here