गान्तोक, १६ फरवरी : शनिबार नरबहादुर भण्डारी डिग्री कलेज, तादोङका तीन हजार विद्यार्थीले ल्यापटप प्राप्त गरे। यसवर्ष ल्यापटप पाउने उनीहरूले कलेजका पहिलो विद्यार्थीहरू हुन्। राज्यको मानव संसाधन विकास विभागद्वारा विद्यार्थीहरूलाई ल्यापटप प्रदान गरिएको हो।
यसअवसरमा प्रमुख अतिथिको रूपमा राज्यका अतिरिक्त मुख्य सचिव जीपी उपाध्याय थिए। उनकै बाहुलीबाट विद्यार्थीहरूलाई ल्यापटप प्रदान गरियो।
आज कलेजका विद्यार्थीहरूसँगै अन्य संस्थान र विद्यार्थीहरूलाई पनि ल्यापटप वितरण गरिएको बताइएको छ। मुख्यमन्त्री पवन चामलिङद्वारा घोषित दशौं श्रेणी माथिका सबै विद्यार्थीहरूलाई ल्यापटप प्रदान गरिने योजना कार्यान्वयन भएको छ।
ल्यापटप वितरणअघि राज्य सरकारका अतिरिक्त मुख्य सचिव जीपी उपाध्यायले यस पहलको निम्ति मुख्यमन्त्री पवन चामलिङप्रति आभार प्रकट गरे। उनले ल्यापटप महँगो चीज भएकोले यसलाई किन्नका लागि केही समय लाग्ने बताए। यसैले पनि राज्यका तीस हजार विद्यार्थीलाई ल्यापटप वितरणमा केही समय लाग्ने उनको भनाइ छ।
उनले विद्यार्थीहरूलाई ल्यापटप वितरण गर्नअघि सबै कुरा जाँच गरिएको तथा यसको एक वर्षको वारेण्टी पनि रहेको पनि बताए। यसैले ल्यापटपमा केही समस्या देखिएमा सिबिनमा गएर आ-आफ्नो ल्यापटप जाँच गराउने उपाध्यायले विद्यार्थीहरूलाई सुझाए।
उल्लेखनीय छ, मानव संसाधन विभागद्वारा प्रदान गरिएको यो योजनाको आपूर्तिकर्ता सिबिन ग्रुप हो।
कलेजकी प्राचार्य बिना प्रधानले सिक्किम सरकार र मुख्यमन्त्री पवन चामलिङप्रति आभार प्रकट गरिन्।
उनले टेक्नोलोजी अहिले हाम्रो दैनिक जीवनको एउटा अभिन्न अङ्ग बनिसकेको तथा विशेषगरी कलेजमा अहिलेको पाठ्यक्रम हेर्दा हरेक विद्यार्थीले अनुसन्धान र प्रस्तुतिका अनेकौं काम गर्नुपर्ने भएकोले ल्यापटप विद्यार्थीहरूका लागि अत्यावश्यक रहेको बताइन्। उनले विद्यार्थीहरूले ल्यापटपको सदुपयोग गर्ने कुरामा पनि विश्वास व्यक्त गरिन्।