क्रामाकपा पछि हट्यो, भाजपालाई सघाउने घोषणा

0
974

दार्जीलिङ, २८ फरवरीः क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)- आउँदो विधानसभाको चुनावी प्रतिद्वन्द्विताबाट पछि हटेको छ।

यसका साथै भारतीय जनता पार्टीलाई सहयोग गर्ने पनि क्रामाकपाले घोषणा गरेको छ।

पहाड़का तीनवटा सिटमध्ये एउटा सिट दिइनुपर्ने आफ्नो मागलाई भाजपाले नसुनेर आफ्नै उम्मेदवार उठाएपछि यसको विरोध गर्दै क्रामाकपाले पहाड़का तीनवटै सिटबाट आफ्नो उम्मेदवार उठाएको थियो।

यति मात्र होइन, क्रामाकपाले भाजपाको फैसलालाई गठबन्धनको धर्मविरुद्ध एकलकाँटे निर्णयको संज्ञा दिँदै दार्जीलिङबाट सुनिल राई, खरसाङबाट अरुण घतानी र कालेबुङबाट किशोर प्रधानलाई चुनाउमा खड़ा गरेको थियो।

तर क्रामाकपा आफ्नो अड़ानबाट पछि हटेको छ। आज विधानसभा चुनाउलाई लिएर बसेको केन्द्रिय सभामा उम्मेदवारिता फिर्ता लिने र भाजपालाई सघाउने निर्णय गरेको क्रामाकपा अध्यक्ष आर.बी. राईले एक प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएका छन्।

राईका अनुसार गोर्खाको समस्या समाधान गर्ने भाजपाका केन्द्रिय

नेतृत्वहरूको वचनलाई ध्यान राखेर तथा तृणमूल समर्थित दलहरूलाई पराजित गर्न क्रामाकपाले आफ्ना उम्मेदवारिता फिर्ता लिने निर्णय गरेको हो।

यसका साथै पहाड़का तीनवटै समष्टिमा भाजपा उम्मेदवारहरूलाई भोट दिएर गोर्खा अस्तित्व रक्षा र गोर्खाल्याण्डको आन्दोलनलाई अझ तीव्र बनाउनका लागि क्रामाकपाले आह्वान गरेको छ।

‘२०११ सालमा बदला होइन परिवर्तन भनेर ममता ब्यानर्जीको सरकार आएको हो। सत्तामा आएपछि बङ्गाललगायत दार्जीलिङ पहाड़, तराई अनि डुवर्समा व्यापक हत्या हिंसा र सन्त्रास फैलाएर दमन निति अपनाएको छ। २०१७-देखि दार्जीलिङमा जेल नेल घर कुड्की र अत्याचारको पराकाष्ठा छाएको छ’, क्रामाकपा अध्यक्ष आर.बी. राईले विज्ञप्तिमा भनेका छन्, ‘क्रामाकपाले २०१९-को लोकसभा चुनाउमा गोर्खा जातिको एकता र पार्टीको सङ्कल्प-पत्रमा गोर्खा जातिको स्थायी राजनीतिक समाधानको प्रतिबद्धतालाई राखेपछि भाजपालाई समर्थन गरेको हो।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here