कैलाश विजयवर्गीयको बयानले गोर्खा समुदायमाथि थप लाञ्छना लगाएको छः विनय

0
1030

दार्जीलिङ, ३० मार्चः  भाजपाका राष्ट्रिय महासचिव एवं बङ्गाल प्रभारी कैलाश विजयवर्गीयले ‘नेपालका एघार जातगोष्ठीको समस्या समाधान गरिनेछ’ भनी दिएको विवादास्पद बयानको विनयपन्थी मोर्चाले तीखो शब्दमा विरोध जनाएको छ।

हिजै एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष विनय तामाङले विजयवर्गीयको बयानको विरोध जनाउँदै उक्त बयानले गोर्खा समुदायमाथि थप लाञ्छना लगाएको बताएका छन्।

साथै दार्जीलिङ पहाड़लगायत सम्पूर्ण भारतीय गोर्खालाई बिनाशर्त माफी माग्नुपर्ने माग गरेका छन्।

विनयका अनुसार विजयवर्गीयले मात्र होइनन्, तर दार्जीलिङका पूर्व भाजपा सांसद एसएस अहलुवालियाले पनि गोर्खाहरू नेपालबाट आएका हुन् भनेका थिए।

‘आज खरसाङमा भाजपाका राष्ट्रिय महासचिव कैलाश विजयवर्गीयले दार्जीलिङका भाजपा नेता मनोज देवान र खरसाङका भाजपा उम्मेदवार बीपी. बजगाइँकै अघि गोर्खाहरू नेपालका हुन् भनी बयान दिएका छन्’, विनय तामाङले भनेका छन्, ‘भाजपाले आजसम्म गोर्खा समुदायका लागि केही गरेको छैन नै त्यहीमाथि आज कैलाश विजयवर्गीयको बयानले गोर्खा समुदायमाथि थप लाञ्छना लाएको छ।’

तामाङले थप भनेका छन्, ‘भाजपालाई हामी याद दिलाउन चाहन्छौँ, हामी गोर्खा हाम्रो देश भारतप्रति इमानदार छौँ। अनि हाम्रा गोर्खा सन्तानले भारत देशको रक्षा गर्न  प्राणको आहुतिसम्म दिएका छन्।

उनका अनुसार भाजपाले अहिलेसम्म भारतीय गोर्खा र नेपालका नेपालीबीचको फरक छुट्याउन सकेको छैन भन्ने कुरालाई कैलाश विजयवर्गीयको बयानले स्पष्ट पार्दछ।

‘हामी चाहन्छौँ भारत-नेपाल शान्ति एवं मैत्री सन्धि १९५०-को धारा ७ झट्टभन्दा झट्ट संशोधन गरेको हुनुपर्छ’, विनय तामाङले भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here