कालचिनी, २ अप्रेलः केन्द्रीय गृहमन्त्री अमित शाहले गोर्खा समुदायका ११ जातगोष्ठीलाई जनजाति र दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको दीर्घकालीन समस्याको स्थायी राजनीतिक समाधानका लागि कार्य गर्ने आश्वासन दोहोऱ्याए।
कालचिनीमा आज एक चुनावी जनसभालाई सम्बोधन गर्दै उनले यस्तो आश्वासन दोहोऱ्याए।
यसका साथै शाहले भाजपा बङ्गालको सत्तामा आए आउँदो नोभेम्बर महिनाभित्र चियाबगान, सिन्कोना बगान, वनबस्ती, डेवलपमेन्ट एरिया र डीआई फण्डमा बसोबास गर्ने मानिसहरूलाई पर्जापट्टा दिइने दावी पनि गरे।
यसका लागि उनले आउँदो २ मईका दिन राज्यको सत्ताबाट ममता ब्यानर्जीलाई विदाई गर्नका लागि उत्तर बङ्गालका जनतासँग अपील गरे।
आज शाहले धेरैपटक गोर्खा समुदायलाई सम्झिए। उनले नेपाली फिल्मलाई बढ़ावा दिनका लागि ५ करोड़को पुरस्कार राशि दिने, नेपाली भाषामा रेडियो च्यानल शुरू गर्ने तथा नेपाली भाषा उत्थानका लागि काम गर्ने आश्वासन पनि दिए।
त्यस्तै उनले उत्तर बङ्गालमा एक केन्द्रीय विश्वविद्यालय, मेडिकल कलेज र एम्स बनाउने आश्वासन पनि दिए। त्यसैगरी शाहले जैविक उत्पादनका लागि ५०० करोड़को कोष बनाउने पहाड़मा बागवानी शुरू गर्ने तथा नारायणी बटालियन स्थापना गरी गोर्खा र राजवंशी युवाहरूलाई रोजगार प्रदान गर्ने पनि आश्वासन दिए।
उनले बङ्गालमा भाजपाको सरकार आउन निश्चित रहेको ठोकुवा पनि गरे।