दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठनले विनय-अनितलाई गुण फर्काउने

0
1255

दार्जीलिङ, 6 अप्रेलः दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठनका सदस्यवर्गले विगतमा विनय तामाङ र अनित थापाले आफूहरूमाथि लगाएको गुणको ऋण चुकाउने घोषणा गरेको छ।

सङ्गठनकी महासचिवा दिपीका गुरुङले यस्तो घोषणा गर्दै भनिन्, “दार्जीलिङ नगरपालिकाका दैनिक रोजीमा कार्य गर्ने साथै अन्य धेरै कर्मचारीहरूले विगतमा धेरै समस्याको सामना गरेका थिए, जसका लागि यी कर्मचारीहरूले अनशनसम्म गर्न परेको थियो। तरै पनि सरकारले उनीहरूको समस्यामाथि कुनै विशेष ध्यान दिएको थिएन। त्यस समय विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङ साथै जीटीएका अध्यक्ष अनित थापाहरूले यी कर्मचारीहरूको समस्या समाधान गर्न धेरै सहयोग प्रदान गरेका थिए।”

यति मात्रै होइन, उनीहरूले कलकत्तामा पनि राज्यका शीर्ष अधिकारी वा मन्त्रीगणसित पनि वार्ता गरेर यी कर्मचारीहरूको समस्या समाधान गर्ने दिशामा पहल गरेकाले दार्जीलिङ नगरपालिकाका कर्मचारीहरूले उनीहरूको त्यो गुणको ऋण फिर्ता गर्ने समय आएको उनले बताइन्।

उल्लेखनीय छ, दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठन तृणमूल कङ्ग्रेसकै एक भ्रातृ सङ्गठन हो, जुन सङ्गठनले यसै पार्टीको सहयोगमा दार्जीलिङ नगरपालिका क्षेत्रमा गत केही महिनाअघि आफ्ना समस्या समाधानको मागमा अनशन गरेको थियो। तर, दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसले यसपालिको विधानसभा चुनाउमा विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चालाई सहयोग गर्ने घोषणा गरे पनि यसै पार्टीको एक भ्रातृ संगठन दार्जीलिङ नगरपालिका कर्मचारी संगठनले ठीक विपरीत विनय तामाङपन्थी गोजमुमोलाई समर्थन जनाएको घोषणा गरेको छ।

यसका साथै दिपीका गुरुङले दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठनमा 419 जना सदस्य रहेको बताउँदै सम्पूर्ण सदस्यलाई चुनाउमा विनय तामाङपन्थी गोजमुमोको पक्षबाट खड़ा भएका प्रार्थीहरूलाई मतदान गरेर विजय गराउने अपील गरेकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here