खरसाङ, ७ अप्रेलः भारतीय जनता पार्टीले दार्जीलिङ पहाड़को समस्याको समाधान देशको संविधानको परिधिभित्रै रहेर गर्ने आश्वासन उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिएका छन्।
उनी स्टार प्रचारका रूपमा आज खरसाङ आएका थिए। स्थानीय मन्टिभियट खेल मैदानमा सम्पन्न चुनावी जनसभालाई सम्बोधन गर्दै योगीले बङ्गाल विधानसभा चुनाउ दार्जीलिङ पहाड़को समस्याको समाधानको माध्यम बन्नुपर्ने पनि बताए।
यसका साथै उनले २०१४ पछि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भाजपाले बोडोल्याण्ड, कश्मीर समस्या र राममन्दिरजस्ता समस्याहरूको समाधान गरेको बताउँदै दार्जीलिङ पहाड़को समस्याको समाधान पनि गर्ने बताए।
कङ्ग्रेस, वामफ्रन्ट र तृणमूल कङ्ग्रेसले दार्जीलिङ पहाड़को समस्याको समाधानमा किन रुचि देखाउनका सट्टा उल्टै अन्याय-अत्याचार गरेको बताए।
यसका साथै उनले दार्जीलिङ पहाड़को प्राकृति सौन्दर्यका कारण पर्यटन केन्द्र बन्ने ठूलो सम्भावना रहेको र यदि बङ्गालमा भाजपामा सरकार भए, दार्जीलिङको पर्यटनले युरोप र स्वीट्जरल्याण्डलाई पनि धेरै पछि पार्ने बताए। साथै दार्जीलिङ पहाड़का युवाहरूले आफ्नै ठाउँमा रोजगार पाउने बताए।
करिब २४ मिनट लामो सम्बोधनमा उनले धेरै समय उत्तर प्रदेशमा भाजपा सरकारले गरिरहेको विकास, जय श्रीराम र ममता ब्यानर्जीमाथि कटाक्ष गर्नमै खर्चेका थिए।