सरकार परिवर्तन भएदेखि राज्यको परिवेश अशान्ति र असुरक्षित : एसडीएफ

0
1512

गान्तोक, ९ अप्रेलः सरकार परिवर्तन भएदेखि यता राज्यको परिवेश अशान्ति र असुरक्षित बनेको तथा सत्तारूढ़ पार्टीका कार्यकर्ता तथा समर्थकहरूको अनुशासनहीनता, मनमानी, दादागिरी र गुण्डागर्दीले राज्यमा सन्त्रास र भयमयी माहौल सिर्जना भइरहेको आरोप एसडीएफले लगाएको छ।

‘२५ वर्षसम्म मुख्यमन्त्रीको गरिमामय पदमा आसिन भई सिक्किम र सिक्किमेली जनतालाई सर्वोत्कृष्ट नेतृत्व दिने तथा आफ्नो जीवनको ४० वर्षभन्दा अधिक समय राजनीतिक क्षेत्रमा योगदान दिँदै आएका परिपक्व नेता पवन चामलिङलाई हिज पोकलोक कामराङ क्षेत्रको दोङ गाउँमा एसकेम कार्यकर्ताहरूले गरेको दुर्व्यवहार अत्यन्त निन्दनीय र खेदजनक छ’, पूर्व जिल्ला कार्यकारी समिति अध्यक्ष कर्म टाशी भोटियाले एक प्रेस विज्ञप्ति जारी गरी भनेका छन्।

यसका साथै  सिक्किमेली समाजमा यो घटना दुर्भाग्यपूर्ण घटना बन्न पुगेको बताउँदै एसडीएफ पार्टी पूर्व जिल्ला कार्यकारी समिति यसको जोड़दार खण्डन गर्दै प्रतिकार गर्नका साथै घटनाको दोषीलाई पुलिस प्रशासनले कानुनी कारबाही गर्नुपर्ने माग पनि उनले गरेका छन्।

‘सामाजिक कार्यमा जुट्नु भएका पूर्व मुख्यमन्त्रीलाई दुर्व्यवहार गरी एसकेएम पार्टीका कार्यकर्ताहरूले राज्यमा मनमानी र धम्कीको राज चलाएको साबित भएको छ। मनमानी र धम्कीको राजले सिक्किम र सिक्किमेली समाजलाई पतनको बाटोतिर धकेलिरहेको हुनाले सम्पूर्ण नागरिक समयमा नै सचेत बन्न आवश्यक छ’ , भोटियाले थप भनेका छन्, ‘आज नेतृत्व पङ्क्तिको लापरवाही र निष्क्रियताका कारण राज्यको विकासको गति पनि थप्त बनेको छ। चारैतिर असुरक्षित र भयमयी माहौल सिर्जना भइरहेको छ। हाम्रो राज्यमा आज घरमा पालेको पशुसमेत सुरक्षित छैन। पश्चिम जिल्ला टिम्बुरबुङ ग्राम पञ्चायतअन्तर्गत तीन नम्बर वार्डका कृषक टेक बहादुर भट्टराईका बाँधेकै ठाउँमा गोरु मारेको अर्को घटनाले वर्तमान समयमा राज्यमा असुक्षितको माहौल बढ़रहेको पुष्टि गरेको छ।

यस्ता कैयौं अमानवीय र असमाजिक घटना घट्दा पनि राज्य सरकार र पुलिस प्रशासन यसको रोकथाम गर्ने पक्षमा मौन र निष्क्रिय रहेको भोटियाले थप आरोप लगाउँदै यसलाई अत्यन्त खेदजनक विषय बताएका छन्।

उनले विज्ञप्तिमा थप भनेका छन्, ‘आगलागी, भुइँचालो, कोरोना सङ्‌क्रमणको नयाँ मामिला आदिले राज्यमा अहिले सङ्‌कट आइपर्ने सम्भवना धेरै बढ़िरहेको छ। यस्तो समयमा पनि मुख्यमन्त्री, मन्त्री, विधायकगण निष्क्रिय रहेर जनादेशको अनादर गरिरहेका छन्‌। नेतृत्व पङ्क्तिको निष्क्रियता र एसकेएम पार्टी कार्यकर्ताहरूको मनमानी, धम्की र दादागिरीपनको हामी जोडदार खण्डन गर्दछौं।‘

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here