प्रम मोदी जनजाति र पीपीएसबारे एकैशब्द बोलेनन्: भने-सङ्कल्प पत्रका वाचाहरू पूरा गर्न बङ्गालमा भाजपा सरकार अनिवार्य

0
1286

सिलगढ़ी, १० अप्रेलः सात वर्षअघि सिलगढ़ीमै आएर गोर्खाको सपना मेरो सपना भन्ने प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक न उक्त सपनालाई दोहोऱ्याए, न त सपनालाई विपनामा परिणत गरिएको कुनै ठोस उपलब्धि देखाए।

सबैभन्दा अचम्मका कुरा दार्जीलिङ जिल्लामै आएर उनले गोर्खा जातिका दुई प्रमुख माग जनजाति र स्थायी राजनीतिक समाधानबारे चुइँसम्म बोलेनन्।

उल्टै भाजपाले आफ्नो सङ्कल्प-पत्रमा समावेश गरेका दार्जीलिङसम्बन्धी मुद्दाहरूका समाधानका लागि बङ्गालमा भाजपा सरकार आउन अनिवार्य रहेको बताए।

धेरै दिनपछि सिलगढ़ी आएका प्रम मोदीले दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका उल्लिखित मुद्दाबारे ठोस केही बोल्नेछन् भन्ने मानिसहरूले आशा गरेका थिए, तर उनीहरूको आशा निराशामा परिणत भयो।

उनले कावाखालीमा चुनावी जनसभालाई सम्बोधन नेपालीको उखान सुनाए-‘नदिने बज्यैले आइतबार बार्छिन्।‘ त्यसपछि प्रम मोदीले थपे, “जो कोहीले तपाईंहरूलाई राम्रो केही दिन सक्दैन, उसले केवल बहाना खोज्छन्। १० वर्ष तपाईंहरूले दिदीलाई पूरा तागत दिनुभयो, दिदीहरूले के दिइन्? दिदीले के तपाईंहरूलाई पर्जापट्टा दिइन्? चियाकमान र सिन्कोनाबगानका श्रमिकहरूको उचित ज्याला निर्धारित गराइन्? वनबासीहरूका लागि वनाधिकार कानून लागू गराइन्? के दिदीले पहाड़का विद्यार्थीहरूलाई लागि सुविधा दिइन्?”

दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रको सन्दर्भमा उनले सोधेका यी प्रश्नहरू भाजपाको पोस्टमा उनले गरेको ‘अनगोल’ नै थिए। किनभने भाजपाले विशेषगरी दार्जीलिङ पहाड़का लागि अहिलेसम्म यी यी कुराहरू दियो भनेर प्रम मोदीले तोकेर भन्नै सकेनन्। बरू सात वर्षअघि देखाएको सपना पनि भुलिसकेको उनकै सम्बोधनले प्रष्ट पारेको छ।

”आदरणीय गोर्खा आमा-बाबा, दाजु-भाइ, दिदी-बहिनी भारतीय जनता पार्टी सदैव गोर्खा समुदायसँग उभिएको छ”, यतिचाहिँ मोदीले नेपालीमा भने।

४४ मिनट १७ सेकेन्डको सम्बोधनको अन्ततिर प्रम मोदीले चियाकमानका श्रमिकहरूका हितमा दिन रात काम गर्ने, पर्जापट्टा सुनिश्चित गर्नका साथै श्रमिकहरूको जीवन सहज बनाउन कार्य गर्ने, सिन्कोना बगानका श्रमिकहरूको हितमा कार्य गर्ने, बङ्गालका कृषकहरूलाई पीएम किसान निधिमार्फत् १८ हजार रुपियाँ दिइने, उत्तर बङ्गालमा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने पनि बताए।

यसका साथै उनले यसपालि ममता सरकारको हार निश्चित रहेको र भाजपाले बङ्गालमा सरकार बनाउने ठोकुवासमेत गरे। प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधन धेरजसो समय तृणमूल नेतृ एवं मुख्यमन्त्री ममता ब्यानर्जीमाथि कटाक्ष गर्नैमा खर्चेका थिए।

यसका साथै उनले कोचबिहारको सितलकुचीमा भएको घटनालाई अत्यन्त दुःखपूर्ण बताउँदै यस घटनामा संलग्न दोषीहरूलाई कठोरभन्दा कठोर सजाय दिनुपर्ने चुनाउ आयोगसँग आग्रह गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here