गान्तोक, १२ अप्रेलः कोरोना भाइरसको बढ्दो मामिलालाई ध्यानमा राखी केन्द्र सरकारले विभिन्न दिशा निर्देश जारी गरिरहेको छ।
यसै क्रममा सिक्किममा पनि राज्य प्रशासनले आज एक आदेश जारी गरेको छ, जसमा कोरोना सम्बन्धी विभिन्न दिशा निर्देश तय गरिएको छ।
आदेशमा उल्लेख गरिएअनुसार राज्यमा घुम्न आउने पर्यटकहरूको कोरोना जाँचका लागि राज्य सरकारको स्वास्थ्य विभागले ७२ घण्टाभन्दा पुरानो रिपोर्ट रहेका पर्यटकहरूका लागि रेपिड एन्टिजेन टेस्टिङको व्यवस्था रम्फू चेक पोस्टमा गरिने उल्लेख गरिएको छ।
स्वास्थ्य विभागले यस सम्बन्धी छुट्टै दिशा निर्देश जारी गर्ने पनि आदेशमा उल्लेख गरिएको छ।
यसैगरी आउँदो १७ अप्रेलदेखि कुनै प्रकारको सामाजिक, राजनैतिक, धार्मिक जमघटहरूमा मानिसहरूको उपस्थिति सङ्ख्या सीमित गरिएको छ। यस्ता कार्यक्रमहरूमा 50 भन्दा अधिक मानिस भेला हुन पाइने छैन।
यस्ता ठाउँहरूमा सबैले कोरोनासम्बन्धी सबै दिशा निर्देशको पालन गर्नुपर्नेछ साथै सम्बन्धित जिल्लापालबाट अगावै अनुमति लिनुपर्नेछ। राज्यमा सबै पसलहरू शनिवार र आइतवार बन्द रहनेछन्। तथापि बजार क्षेत्रमा रहेका दवाई दोकान, राशन तथा तरकारी पसलहरूलाई भने बन्ददेखि अलग राखिएको छ।
यो आदेश आउँदो 30 अप्रेलसम्म लागू रहने उल्लेख गरिएको छ।
यसअवधि साप्ताहिक बन्दलाई भने रद्द गरिएको विभागीय आदेशमा उल्लेख गरिएको छ।