दार्जीलिङ, १४ अप्रेलः आउँदो १७ अप्रेलका दिन सम्पन्न हुने पाँचौँ चरणको मतदानका लागि चुनाउ प्रचार अभियानको अन्तिम दिन आज विमल गुरुङपन्थी गोजमुमोले स्थानीय मोटर स्ट्यान्डमा चुनावी जनसभाको आयोजन गऱ्यो।
उक्त जनसभालाई सम्बोधन गर्ने क्रममा विमल गुरुङले गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, विनय तामाङपन्थी गोजमुमोमाथि गतिलो कटाक्ष प्रहार गरे।
उनले गोरामुमोमाथि कटाक्ष प्रहार गर्दै भने, “मै हुँ भन्ने गोरामुमोले यसपालि दार्जीलिङ पहाड़का तीनवटा आसनमध्ये एउटा आसनबाट पनि आफ्नो उम्मेदवार दिन सकेन, जसका कारण यस पार्टीले यहाँको क्षेत्रीयता बँचाउन पनि सकेन।”
गुरुङको आरोपका अनुसार 2017-को आन्दोलन बिथोल्ने पनि गोरामुमो नै हो।
दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसका नेतृत्ववर्ग एनबी खवास, फादर सोलोमन सुब्बा, गोर्खा लीगका सञ्जय ठकुरी आदि पनि उपस्थिति रहेको यस जनसभालाई सम्बोधन गर्दै गुरुङले साढ़े तीन वर्षमा जीटीएमा व्यापक घोटाला भएको पनि आरोप लगाए।
उनले यसमाथि जाँच गर्नुपर्ने माग गर्दै जीटीएका अस्थायी कर्मचारीहरूलाई स्थायी गराउने पनि वचन दिए।
विमलले भारतीय जनता पार्टीले गोर्खा समुदाय वा दार्जीलिङ पहाड़लाई केवल सपना मात्रै देखाएको बताउँदै केन्द्रीय विश्वविद्यालयको स्थापना गर्ने आश्वासन पनि केवल सपना मात्रै रहेको पनि बताए।