नयाँ दिल्ली, १५ अप्रेलः जुन कुराको डर थियो, अन्तमा भयो त्यस्तै। राजनीतिक दलहरूले पश्चिम बङ्गाल, असम, पुडुचेरी, केरल र तमिलनाडुका आम मानिसहरूको ज्यान जोखिममा परेका छन्।
यस्तो गर्नुमा एउटा मात्र राजनीतिक दल दोषी छैन, दोषी छन् त सबै। पछिल्लो दुई साताभन्दा अधिकको कोरोना सङ्क्रमणको आँकड़ालाई हामीले हेऱ्यौँ भने यो स्पष्ट छर्लङ्ग भइहाल्छ।
चुनाउ भइरहेका उल्लिखित पाँच राज्यमा कोरोना सङ्क्रमणको गति र मृत्यु दरमा अत्यधिक वृद्धि भएको छ। राजनीतिक दलहरूले भोट हत्याएर सत्ता पाउनका लागि जुन प्रकारले भीड़ जुटाए, ऱ्याली-सभाहरूमा उपस्थित मानिसहरूले कोविड नियमलाई जसरी बेवास्ता गरे, त्यसबाट एउटा कुरा पक्का थियो-कोरोना सङ्क्रमण ह्वात्तै बढ़्नेछ। बढ़्यो पनि त्यसरी नै। अब कोरोना सङ्क्रमण बेलगाम बनेको छ।
बुधबार मात्र देशमा रेकर्ड दुई लाखभन्दा बढ़ी नयाँ मामिला प्रकाशमा आएको छ। कोरोनाकै कारण देशमा पछिल्लो २४ घण्टामा एक हजारभन्दा बढ़ीले ज्यान गुमाएका छन्।
चुनाउ भइरहेका पाँच राज्यको वर्तमान अवस्था हेऱ्यौ-
असम: असममा कोरोना सङ्क्रमण ह्वात्तै बढ़ेको छ। १६ देखि ३१ मार्चका बीच असममा केवल ५३७ जना सङ्क्रमित पाइएका थिए। अर्थात् यस राज्यमा स्थिति धेरै राम्रो थियो। तर १ देखि १४ अप्रेलका बीच यो सङ्ख्या ह्वात्तै बढ़ेको छ। यी १४ दिनमा रेकर्ड ३३९८ जना कोरोना सङ्क्रमित बनेका छन्। यस हिसाबले असममा सङ्क्रमणको गतिमा ५३२ प्रतिशतले वृद्धि भएको छ। यसैगरी मार्च महिनामा असममा कोरोना कारण केवल ६ जनाको मृत्यु भएको थियो भने यो १४ दिनभित्र १५ जनाले आफ्नो ज्यान गुमाइसकेका छन्।
पश्चिम बङ्गालः पश्चिम बङ्गालमा पछिल्लो १४ दिनमा कोरोना सङ्क्रमणको गति ४२० प्रतिशतले वृद्धि भएको छ। यस राज्यमा १६ देखि ३१ मार्चसम्म केवल ८,०६२ जना कोरोना सङ्क्रमित पाइएका थिए। तर १ देखि १४ अप्रेलका बीच यो सङ्ख्या बढ़ेर ४१ हजार ९२७ पुगेको छ। मार्च महिनामा बङ्गालमा केवल ३२ जनाको मृत्यु भएको भने यी १४ दिनमा १२७ जनाले कोरोनाका कारण आफ्नो ज्यान गुमाइसकेका छन्।
केरलः केरलामा कोरोना सङ्क्रमण बेलगाम बढ़िरहेको छ। पछिल्लो १४ दिनमा यस राज्यमा कोरोना सङ्क्रमणको गति १०३ प्रतिशतले वृद्धि भएको छ। १६-देखि ३१ मार्चसम्म केरलमा ३० हजार ३९० जना कोरोना सङ्क्रमण पाइएको थियो। तर १४ अप्रेलसम्म यो सङ्क्रमण ह्वात्तै बढ़ेर ६१ हजार ७९३ भएको छ। यसैगरी केरलमा मृत्यु सङ्ख्या पनि बढ़ेको छ। मार्चको महिनामा यहाँ कोरोनाका कारण १९९ जनाको मृत्यु भएको थियो भने पछिल्ला १४ दिनमा २०४ जनाले आफ्नो ज्यान गुमाइसकेका छन्।
तमिलनाडुः तमिलनाडुमा पनि कोरोना सङ्क्रमण अत्यधिक बढ़िरहेको छ। १६ देखि ३१ मार्चका बीच यस राज्यमा २५ हजार २४४ जना कोरोना सङ्क्रमित पाइएको थियो। तर १ देखि १४ अप्रेलका बीच यो सङ्ख्या बढ़ेर ६५ हजार ४५८ पुगेको छ। अर्थात तमिलनाडुमा कोरोना सङ्क्रमणको गति १५९ प्रतिशतले बढ़ेको छ। मृत्युको आँकड़ा पनि यस्तै छ। मार्च महिनामा तमिलनाडुमा १६३ जनाको मृत्यु भएको थियो। तर, पछिल्ला १४ दिनमा कोरोनाका कारण २३२ जनाले आफ्नो ज्यान गुमाइसकेका छन्।
पुडुचेरीः पुडुचेरीमा कोरोना सङ्क्रमणको नयाँ मामिलामा धेरै वृद्धि भएको छ। यहाँ १६ देखि ३१ मार्चका बीच १४०० जना कोरोना सङ्क्रमित पाइएको थियो। तर १ देखि १४ अप्रेलबीच यो सङ्ख्या बढ़ेर ३,७२१ भएको छ। अर्थात् कोरोना सङ्क्रमण गति १६५ प्रतिशतले वृद्धि भएको छ। यसैगरी मृत्यु पनि बढ़ेको छ। मार्चमा कोरोनाका कारण पुडुचेरीमा केवल ९ जनाको मृत्यु भएको थियो भने पछिल्ला १४ दिनमा यो सङ्ख्या बढ़ेर १५ भएको छ।
-दैनिक भाष्कर