सोनादामा दुई मोर्चाबीच झगड़ा, एकार्कामा आरोप प्रत्यारोप

0
1291

सोनादा, 19 अप्रेलः आज बेलुकी सोनादामा विमलपन्थी र विनयपन्थी मोर्चाबीच झगड़ा भएको घटना प्रकाशमा आएको छ। झगड़ालाई लिएर दुवै पक्षले एकार्कामाथि आरोप-प्रत्यारोप लगाएका छन्।

जानकारीका अनुसार विमलपन्थी मोर्चा समर्थक जोकमान थापामाथि खुकुरीले प्रहार गरी घाइते बनाइएको छ भने विमलपन्थी मोर्चा समर्थकहरूले पूर्व सभासद् एवं विनयपन्थी मोर्चा नेता महेन्द्र प्रधानलाई हमला गरी घाइते बनाएका छन्।

विमल गुरुङका अनुसार आज उनी गुरुङ सोनादा भ्रमणमा आएका थिए। हिजो सोनादाको एक मस्जिदमा केही तोड़फोड़ भएको थियो। उक्त मस्जिदको निरीक्षण पछि उनी रिङ्टङ चियाकमान पनि पुगेर फर्किरहेको बेला नालीचौरमा महेन्द्र प्रधानका समर्थकहरूले आफ्ना समर्थकहरूमाथि हमला गरेको गुरुङको आरोप छ।

विमलको आरोपका अनुसार महेन्द्र प्रधानका समर्थकहरूले खुकुरीले प्रहार गरी जोकमान थापालाई घाइते बनाएका छन्। जोकमान थापा विमलपन्थी मोर्चाका सक्रिय कार्यकर्ता हुन्।

यससम्बन्धमा विमलपन्थी मोर्चाले सोनादा थानामा प्राथमिकी पनि दर्ता गरेको गुरुङले बताएका छन्।

अर्कोतिर, विमल गुरुङले आफूमाथि प्राणघातक हमला गरेको विनयपन्थी मोर्चा नेता महेन्द्र प्रधानको आरोप छ। महेन्द्र प्रधानको आरोपका अनुसार विमल गुरुङले नै हतियारले उनीमाथि प्रहार गरेका हुन्। आफ्नो शिरमा चोट लागेको पनि उनले बताएका छन्। विमल गुरुङहरूविरुद्ध थानामा प्राथमिकी दर्ता गर्ने पनि प्रधानले बताएका छन्।

जनसंवादलाई 12 सेकेन्डको एउटा भिडियो प्राप्त भएको छ, जसमा दुईजना युवकको हातमा खुकुरी देखिएको छ ती खुकुरी बोकेका दुई युवकले गाड़ीभित्र रहेका अरूलाई खुकुरी देखाइरहेका छन्।

विमलपन्थी मोर्चाका आरोपका अनुसार खुकुरी बोक्ने ती दुई युवक महेन्द्र प्रधानका समर्थक हुन्, जसले नै जोकमान थापामाथि प्रहार गरेका हुन्।

दुई मोर्चाबीच भएको यस झगड़ाबारे विस्तृत जानकारीका लागि सोनादा थानाका अधिकारीहरूसँग सम्पर्क गर्नखोज्दा सम्पर्क हुनसकेन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here