दार्जीलिङ, 27 अप्रेलः दार्जीलिङमा फेरि एकजना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ।
यसका साथै दार्जीलिङमा कोरोनाको दोस्रो लहरका कारण ज्यान गुमाउनेहरूका सङ्ख्या बढ़ेर 8 पुगेको छ।
दार्जीलिङ जिल्ला अस्पतालका स्वास्थ्य अधिकारी डी. एस चन्दाका अनुसार पातलेबासनिवासी 65 वर्षीय कोरोना सङ्क्रमित महिलाको आज अपराह्न करिब 2.30 बजी निधन भएको हो।
उनले बताएअनुसार आजै बिहान ती महिलालाई उपचारका लागि दार्जीलिङ जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। यद्यपि भर्ना गरिएका केही घण्टा नबित्दै ती महिलाको मृत्यु भएको हो।
डी. चन्दाका अनुसार मृतक महिला डायबिटिज र उच्च रक्तचापले पनि ग्रसित थिइन्।
उल्लेखनीय छ, पछिल्ला केही दिनयता दार्जीलिङमा प्रतिदिन जस्तै गरी कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ।
आजै बिहान मात्र दार्जीलिङ नगरपालिकानिवासी कोरोना सङ्क्रमित एक 46 वर्षीय व्यक्तिको पनि मृत्यु भएको थियो।