दार्जीलिङ, 29 अप्रेलः हिमालयन पर्वतारोहण संस्थान (एचएमआई) आउँदो 1 मईदेखि बन्द हुने भएको छ।
विशेष गरी कोरोना सङ्क्रमणको बढ्दो प्रकोपलाई ध्यानमा राखेर नै एचएमआई प्रशासनले यस्तो घोषणा गरेको हो।
यसैले आउँदो 1 मईदेखि एचएमआईमा पर्यटक साथै अन्य सबैको आगमनमा रोक लाग्ने भएको छ।
यसका साथै संस्थानले एचएमआई होस्टललाई आइसोलेशन सेन्टरको रूपमा परिवर्तन गरेको पनि बताएको छ।
एचएमआईका प्राचार्य कप्तान जय किशनले यसबारे एक आधिकारिक नोटिस जारी गरेका छन्।
दार्जीलिङको हिमालयन पर्वतारोहण संस्थान दार्जीलिङ जू-सितै जोड़िएको छ, यसैले आउँदो 1 मईदेखि दार्जीलिङ जू पनि बन्द हुनसक्ने यसबाट छनक पाइएको छ। यद्यपि, अहिलेसम्म जू वा पद्मजा नायडु हिमालयन जुलोजिकल पार्कले जू बन्द गर्ने आधिकारिक घोषणा गरेको छैन। तर, गत वर्ष कोरोना सङ्क्रमण बढ़ेपछि दार्जीलिङ जू प्रशासनले पनि दार्जीलिङ जू-लाई निकै महिनासम्मका लागि बन्द गरेको थियो।
यसैले दार्जीलिङ पहाड़सँगै देशमा यस्तैप्रकारले कोरोना सङ्क्रमण बढ़े दार्जीलिङ जू प्रशासन पनि जू परिसर बन्द गर्न बाध्य हुनेछ।