नवीन सुस्वास्थ्य योजना शुरू

0
916

गान्तोक, 29 अप्रेलः कोरोना महामारीले देशलाई नै त्रसित भयभीत बनाएको अवस्थाबीच सिक्किम सरकारले सरकारी कर्मचारीहरूलाई स्वास्थ्य सुरक्षाको क्षेत्रमा नयाँ उपहार लिएर आएको छ।

स्वास्थ्य पनि सुविधा पनि भन्ने नाराको साथमा आरम्भ गरिएको नवीन योजना भने स्वास्थ्य बीमा सरह देखिए तापनि यो सामान्य स्वास्थ्य बीमाभन्दा धेरै लाभकारी रहेको दावी गरिएको छ।

राज्य सरकारको स्वास्थ्य विभागले स्वाती हेल्थ प्राइवेट लिमिटेड नामक एउटा निजी संस्थासितको सहकार्यमा थालेको यस स्वास्थ्य योजनाको आज मुख्यमन्त्री पीएस गोलेले लोकापर्ण गरे।

राजधानीको मनन केन्द्रमा आयोजित कार्यक्रममा मुख्यमन्त्रीले दुइजना लाभार्थीलाई सुस्वास्थ्य हेल्थ कार्ड पनि प्रदान गरे।

अहिलेका लागि सुस्वास्थ्य योजना केवल स्थायी सरकारी कर्मचारीहरूका लागि रहेको छ। पछिबाट अस्थायी कर्मचारीहरूलाई पनि यस योजनामा सामेल गरिने बताइएको छ।

यस योजनाअन्तर्गत सरकारी कर्मचारीको परिवारका सदस्यहरूले प्रतिव्यक्ति प्रतिमहिना 2 सय रुपियाँ प्रिमियम भुक्तान गर्नुपर्नेछ, जसका लागि प्रत्येक व्यक्तिले 10 लाख रुपियाँको स्वास्थ्य बीमाको लाभ पाउने छन्।

उल्लेखनीय छ, यसअघि राज्यका सरकारी कर्मचारीहरूले सित्तैमा 5 लाख रुपियाँसम्मको मेडिकल रिम्बर्समेन्ट पाउने गर्थे तर त्यसका लागि धेरै औपचारिकता पूरा गर्नुपर्ने हुन्थ्यो, जसमा धेरै समय लाग्ने गर्दथ्यो।

ती अड़चनहरूलाई पन्साउन नै सरकारले सुस्वास्थ्य योजना लागू गरेको हो भन्दै मुख्यमन्त्री गोलेले यसमा केही लगानीमा कर्मचारीहरूले पहिलेभन्दा दोब्बर आर्थिक सहयोग पाउने आफ्नो सम्बोधनमा बताए।

सुस्वास्थ्य योजना पूर्णरुपले क्यासलेस हुने दावी गरिएको छ भने यस योजनाअन्तर्गत लाभार्थीले देशभरिका 4 सयवटा अस्पतालबाट उपचार सुविधा लिनसक्नेछन्।

यो योजना राज्य सरकारको एउटा ध्वजवाहक योजना हो भन्दै यदि राम्रो भयो भने भोलिको दिनमा यसलाई अझ विस्तार गरिने मुख्यमन्त्री गोलेले आफ्नो सम्बोधनमा बताए।

यदि सरकारी कर्मचारीहरू यस योजनाबाट सन्तुष्ट नभएको खण्डमा पहिलेकै व्यवस्था लागू गरिने पनि उनले थप बताए।

यसअवसरमा मुख्यमन्त्रीले राज्यमा बढ्दो कोविड 19 सङ्क्रमणलाई ध्यानमा राखेर सरकारी विभागहरू आगामी 7 मईसम्म बन्द राखिने घोषणा पनि गरे।

कार्यक्रमलाई स्वास्थ्य मन्त्री डा. एमके शर्माले पनि सम्बोधन गरे।

उनले सुस्वास्थ्य योजनाअन्तर्गत पुरानो रोगको पनि उपचार हुने भएकाले यो योजना साधारण स्वास्थ्य बीमाभन्दा असल रहेको दावी गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here