दार्जीलिङ, 1 मईः हिजो बेलुकी र मध्यराति गरी दार्जीलिङमा दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको दार्जीलिङ जिल्ला अस्पतालका स्वास्थ्य अधिकारी डा. एस. चन्दाले जानकारी गराएका छन्।
उनका अनुसार दुवैजना दार्जीलिङ जिल्ला अस्पतालमा उपचाराधीन थिए।
मृत्यु हुनेमा एकजना सोनादा पचेङनिवासी 57 वर्षीय पुरुष हुन्।
हिजै दिउँसो उनलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो तर केही घण्टा नबित्दै अर्थात् बेलुकी 5.10 बजी उनको मृत्यु भयो।
त्यसैगरी हिजो मध्यराति करिब 1.45 बजी दार्जीलिङ गड्डीखाननिवासी 45 वर्षीय महिलाको मृत्यु भएको छ।
उनलाई पनि हिजै अस्पतालमा भर्ना गरिएको तथा केही घण्टापछि नै मृत्यु भएको डा. एस चन्दाले बताए।
“ कोरोना सङ्क्रमित यी दुवैजनाको अवस्था सोचनीय थियो”, उनले भने।
दार्जीलिङ जिल्ला अस्पतालका स्वास्थ्य अधिकारी डा. एस चन्दाका अनुसार अहिलेसम्म दार्जीलिङ अस्पतालमा कोरोना सङ्क्रमित जतिजनाको पनि मृत्यु भइसकेको छ, उनीहरूका अवस्था सोचनीय रहेको थियो। अस्पतालमा उपचारका लागि भर्ना गर्न ल्याइँदै उनीहरू सबैको अक्सिजन लेबल (सेच्युरेशन) 40 प्रतिशतभन्दा कम्ती रहेको थियो।