निल बहादुर छेत्री बने जीएमसीका मेयर, छिरिङ पाल्देन बनिन् उप-मेयर

0
1200

गान्तोक,  4 मईः लोअर सिच्छेकी पार्षदिका कला राईले अढ़ाई वर्षका लागि मात्र पदमा बस्न अस्वीकार गरेपछि गान्तोक नगर निगमको मेयरको पदमा बुर्तुक वार्डका पार्षद् निल बहादुर छेत्री चयन भएका छन्।

हिजो मात्र गान्तोक नगर निगमका पार्षद्हरूको बैठकमा सर्वसम्मतिद्वारा अढ़ाई वर्षसम्मका लागि कला राईलाई मेयर पदमा चयन गरेको थियो।

तर उनले सर्वसम्मतिको उक्त प्रस्तावलाई असंवैधानिक बताउँदै ठाड़ै अस्वीकार गरेकी थिइन्।

त्यसैले आज पुनः पार्षद्हरूको बैठक बसेर निलबहादुर छेत्रीलाई चयन गरिएको हो।

त्यसैगरी डेवलपमेन्ट एरिया वार्डकी पार्षदिका छिरिङ पाल्देन भोटियालाई उपमेयरको पदमा चयन गरिएको छ।

आज देवरालीस्थित नगर निगमको कार्यालयमा एउटा सामान्य कार्यक्रमबीच पूर्व जिल्लाका जिल्लापाल रगुल के.-ले मेयर, उप-मेयर साथै गान्तोक नगर निगमका सबै नवनिर्वाचित पार्षदलाई पद अनि गोपनीयताको शपथ ग्रहण गराए।

यस अवसरमा गान्तोक नगर निगमका कुल 19 मध्ये 17 पार्षद उपस्थित थिए।

एकजना पार्षद राजु तामाङको केही दिनअघि निधन भएको छ भने कोविड 19 सङ्क्रमित भएकाले पार्षद कला राईले भिडियो कन्फरेन्समार्फत् भर्चुअल शपथ ग्रहण गरिन्।

शपथ ग्रहण कार्यक्रमपछि पत्रकारहरूलाई सम्बोधन गर्दै जिल्लापाल रगुल के-ले निर्वाचित पार्षदहरूद्वारा मेयर र उप-मेयर निर्विरोध चयन भएको बताए।

गान्तोक नगर निगमको नियमअनुसार पाँचजना कार्यकारी पार्षद्को चयन भने अहिले नगरिएको उनले जानकारी गराए।

मेयर बनेपछि पत्रकारहरूसितको छोटो कुराकानीमा निल बहादुर छेत्रीले गान्तोक नगर निगम क्षेत्रको विकासका लागि सबै पार्षद्लाई साथमा लिएर काम गर्ने बताए।

यसरी नै उपमेयर भोटियाले एकजना महिलालाई अवसर दिएकोमा राज्य सरकार र मुख्यमन्त्री पीएस गोलेप्रति आभार व्यक्त गरिन्।

दुवै मेयर र उपमेयरले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाउ जितेर आएको भन्दै स्वतन्त्र रूपमा नै काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here