दार्जीलिङ, 7 मई: कोविडविरुद्ध लड़ाइँमा खड़ा हुँदै दार्जीलिङ हेरिजेट रेस्टुरेन्ट ग्लेनरिजलाई आइसोलेशनमा परिणत गरिने भएको छ, जसमा दार्जीलिङको प्लान्टर्स अस्पतालले मेडिकल सहयोग प्रदान गर्ने भएको छ।
यसलाई आइसोलेशन सेन्टरको रूपमा परिणत गर्न स्वास्थ्य विभागलाई पनि पत्राचार गरिसकेको ग्लेनरिजका मालिक अजय एड्वर्डले जानकारी गराएका छन्।
यसका लागि एड्वर्ड फाउण्डेशन र दार्जीलिङ इनिसिएटिभ नामक संस्थाले पनि सहयोग गरिरहेको एड्वर्डले थप बताएका छन्।
उनले यस रेस्टुरेन्टको सबैभन्दा माथिल्लो तलाको रेस्टुरेन्टलाई आइसोलेशन सेन्टरको रूपमा प्रयोग गर्ने योजना बनाइएको जानकारी गराउँदै ग्लेनरिजको बेकरीबाट हुने लाभको राशिलाई पनि यसैमा खर्च गर्ने कार्यक्रम बनाएको पनि उनले बताए।
अजय एड्वर्डको यस प्रयास वा समाज सेवाको चारैतिर अहिलेदेखि नै सराहना हुन थालेको छ भने यस आइसोलेशन सेन्टरले दार्जीलिङका धेरै मानिसलाई ठूलो सहयोग पुग्ने निश्चित छ, जहाँ उनले 40 देखि 45 वटा बेड राख्ने योजना बनाएको पनि बताए।
स्मरण गराइन्छ, अजय एड्वर्ड विगत निकै समयदेखि समाज सेवामा लागिपरेका छन् अनि समाज सेवा गरेर एक उदाहरण नै प्रस्तुत गरिसकेका छन्।
यसैबीच, फेरि कोविड-19-को दोस्रो लहरबीचै उनले ग्लेनरिज रेस्टुरेन्टको एकांशलाई आइसोलेशन सेन्टर बनाउने घोषणा गरेर अर्को उदाहरणीय कार्य गरेका छन्। जहाँ सरकारी नियमअनुसार, अक्सिजनको आधारभूत सुविधा पनि उपलब्ध गराइने भएको एड्वर्डले बताए।
“ग्लेनरिजको सबैभन्दा माथिल्लो तला जानका लागि बाटो पनि अलग्गै छ अनि यो सम्पूर्ण बिल्डिङदेखि नै अलग्गै हुनेछ। किनभने, यो तला भएर तल्लो तला जाने बाटो पूर्णरूपले बन्द गरिनेछ, ताकि यो तलासित ग्लेनरिजका अन्य अङ्शको कुनै सम्पर्क नै हुन नसकोस्” एड्वर्डले थपे, “यसैकारण पनि यस तलालाई आइसोलेशन सेन्टर बनाउने कुनै असुविधा हुनेछैन। यद्यपि, निजी स्थानमा आइसोलेशन सेन्टर बनाउन कतिपय सरकारी नियमहरू पालन गर्नुपर्ने भएको कारण यसका लागि हामीले दार्जीलिङ जिल्ला अस्पताल प्रमुखलाई पनि पत्राचार गरेका छौँ।”
उनले ग्लेनरिजको माथिल्लो तलामा प्राथमिकरूपमा 20 वटा बेड राखिने अनि पछिबाट 40 देखि 45 वटा बेड राख्ने योजना बनाइएको पनि बताए।