गायिका/अभिनय कलाकार रोना छेत्रीको निधन

0
1151

दार्जीलिङ, 20 मईः  दार्जीलिङकी गायिका एवं अभिनय कलाकार रोना छेत्रीको निधन भएको छ। पारिवारिक सूत्रका अनुसार उनको आज बिहान करिब 4.10 बजी दार्जीलिङको एक निजी अस्पतालमा मृत्यु भएको हो।

जानकारीका अनुसरा निमोनिया भएका कारण उनलाई दुई दिनअघि उक्त निजी अस्पतालमा भर्ना गरिएको थियो।

दार्जीलिङ रोजब्याङ्कनिवासी रोना छेत्री प्रतिबद्ध गायिका मात्र नभएर प्रतिभाशाली अभिनय कलाकार पनि थिइन्। गीत जति मीठो गाउँथिन्, उत्तिकै प्रभावशाली अभिनय पनि गर्थिन्।

कला भने हुरुक्कै हुन्थिन्। मरिमेट्थिन्। उनको घरकै परिवेश कलामय थियो। सानैदेखि कलाकै परिवेश हुर्की/बढ़ेकी।

हजुरबा छविलाल शर्माको कलाकारिता र छेमा वसन्ती शाहको नृत्य, मामाद्वय गणेश शर्मा र कमल शर्मा तथा दाजु बाला छेत्रीहरूले बजाएको भायलिनको झङ्कार सुनी/हेरी हुर्के-बढ़ेकी थिइन् उनी। यसैले कलासँगको संसर्ग बाल्यकालदेखिकै थियो, जुन संसर्ग उनी गायक/अभिनय कलाकार आनन्द मुखियासँग विवाह भएपछि पनि उत्ति प्रगाढ़ रहेको थियो।

(फ्रन्टियर नाटकमा अभिनय गर्दै रोना छेत्री। साथमा कलाकार प्रकाश छेत्री।)

गायिका/अभिनय कलाकार रोना छेत्रीलाई सम्झदै वरिष्ठ कलाकार मेनुका प्रधान भन्छिन्, “दार्जीलिङले एकजना राम्रो गायिका/कलाकार गुमाएको छ। यो अत्यन्त दुःखद क्षण हो। रोना जति राम्रा गायिका थिइन्, उतिनै राम्रो कलाकार पनि। ठूलो मन भएकी सबैलाई सहयोग गर्ने सहयोगी थिइन्।”

उनीसँग रोना छेत्रीले नाटकमा मात्र गरिनन्, गीति एलबममा पनि गरेकी थिइन्। मेनुका प्रधानकै गीति एलबम ‘भुल्न गाह्रो भो’-का एकाध गीतमा रोनाकै स्वर छ। यो गीति एलबमको निर्माता पनि रोना छेत्री नै थिइन्।

यसरी नै सुनको औंठीमा रोना उनकी छोरीको भूमिकामा छिन्।

“रोना एकजना आइरन लेडी थिइन्। आफूभित्रका दुःखहरू कसैले देखाइनन्। बरू ती दुःख-पीड़ाहरूलाई जितेरै बिन्दास बाँचिन्। माउन्टेन कार ऱ्यालीमा दार्जीलिङलाई प्रतिनिधित्व गरी सहभागी बन्ने पहिलो नारी पनि  थिइन् उनी”, कलाकार मेनुका प्रधान थप सम्झन्छन्।

(सुनको औंठी नाटकका लागि सिक्किमको खिचेपेरी जाँदा बाटोमा खिचेको तस्बिर। रोना छेत्रीसँग वरिष्ठ अभिनय कलाकार मेनुका प्रधान र विमला सुब्बा।)

उनका अनुसार रोना छेत्री खरसाङ रेडियोका अनुमोदित कलाकार पनि हुन्। अभिनय (टेलिफिल्म), फ्रन्टियर, सुनको औंठीलगायत एक दर्जनभन्दा अधिक नाटकमा अभिनय गरेकी छन्।

उनको निधनमा संयुक्त कलाकार मञ्चले शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

“रोना छेत्रीको निधन दार्जीलिङ कला क्षेत्रका लागि ठूलो क्षति हो। दार्जीलिङले आज एक कलाकारसँग राम्रो मन भएको मानिस गुमाएको छ”, मञ्चका महासचिव वरिष्ठ सङ्गीतकार जीवन प्रकाश प्रधानले भनेका छन्।

गायिका/कलाकार रोना छेत्री आफूपछि दुई छोरा रिदम मुखिया र रोहन मुखियालाई छाड़िगएकी छन्। ठूलो छोरो रिदम मुखिया पनि उज्यालो सम्भावना बोकेका नवोदित गायक हुन्। सानो छोरो रोहन मुखिया पनि कलासँगै सम्बन्धित छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here