गुवाहाटी, 25 मईः बोडोल्याण्ड टेरिटोरियल रिजन (बीटीआर)-को चिराङ जिल्लामा वनविभागले अवैध कब्जामुक्तको बहानामा अन्य दुई जनगोष्ठीका सँगै गोर्खा समुदायका 11 घरमा आगो झोसेको घटना प्रकाशमा आएको छ।
वनविभागले यो अत्याचार चिराङ जिल्लाको दादघारी कोराइबारीमा चार दिनअघि गरेको हो।
जानकारीका अनुसार वनविभागले अवैध कब्जामुक्तको बहानामा त्यहाँ बसोबासो गर्दै आएका करिब 30 परिवारका घरमा आगो झोसेको छ, जसमा 11 घर गोर्खा समुदाय र रहल घर आदिवासी र सूत्रधरका रहेका छन्।
पीड़ित परिवारसँग भेट गर्न र घटनाबारे जानकारी लिन अल असम गोर्खा स्टुडेन्ट युनियन (आग्सु) अल बोडो स्टुडेन्ट युनियन, आदिवासी छात्रा सङ्घलगायत अन्य सङ्गठनका प्रतिनिधिहरूले आज स्थलगत भ्रमण गरेका थिए।
उनीहरूले त्यहाँ पीड़ित परिवारहरूका जुन अवस्था देखे, त्यो अत्यन्त कारुणिक थियो।
स्थलगत भ्रमणका लागि घटनास्थलमा पुगेका आग्सु चिराङ जिल्ला अध्यक्ष श्याम छेत्रीले भने, “पीड़ितहरूको अवस्था अहिले शरणार्थीजस्तै भएको छ। उनीहरूका घर र घरभित्रका सम्पूर्ण सरसमान जलेका कारण तिरपलको सानो झोपड़ी बनाएर पीड़ित परिवारहरू त्यहीं कष्टप्रद बसेका छन्।”
उनका अनुसार वनविभागले ती परिवारहरूका वस्तुभाव समेत लिएर गएको छ।
अहिले एउटा एनजीओ र आग्सु चिराङले बस्ने र भाँड़ाकुड़ा र खानेकुराहरूका अस्थायी व्यवस्था गरिदिएको पनि छेत्रीले जनसंवादलाई बताए।
वनविभागको यस्तो कार्यलाई आग्सु अध्यक्ष अर्जुन छेत्रीले अत्यन्त क्रूर र उद्देश्यप्रेरित कार्यको संज्ञा दिँदै तीखो शब्दमा भर्त्सना गरेका छन्।
“वनविभागले अवैध कब्जामुक्तको नाममा जुन कार्य गरेको छ, त्यो ठूलो अन्याय-अत्याचार हो”, उनले जनसंवादसँग टेलिफोनिक कुराकानीअवधि थपे, “किनभने कब्जामुक्त गर्नअघि वनविभागले कानुनी प्रक्रिया अप्नाउनपर्ने थियो, त्यसो नगरेर सोझै घरमा आगो झोस्ने कार्य गऱ्यो।”
पीड़ितहरूलाई क्षतिपूर्ति र पुनर्वासको व्यवस्था जतिसक्दो चाँड़ो गर्नपर्ने आग्सुको माग छ। यदि यसो नगरिएको खण्डमा कोरोना सङ्क्रमणको प्रभाव साम्य भएपछि आग्सुले आन्दोलन नै गर्ने अध्यक्ष अर्जुन छेत्रीले बताए।
“हामीले यसबारे राज्यका वनमन्त्रीलाई हिजै भेट गरिसकेका छौँ। साथै मुख्यमन्त्री हिमन्त विश्व शर्मालाई पनि अवगत गराइसकेका छौँ”, छेत्रीले थपे, “ हामीले बीटीआर प्रमुख प्रमोद बोडोलाई यसबारे कुराकानी गरिसकेका छौँ।”
पीड़ित परिवारले शीघ्रै न्याय पाउनुपर्ने उनको माग छ।
“बिनाप्रक्रिया, एकैचोटि वनविभागले ती परिवारहरूका घरमा आगो लगाउने जुन कार्य गऱ्यो, त्यस्तो निन्दनीय कार्य फेरि फेरि नदोहोरियोस्” आग्सु अध्यक्ष अर्जुन छेत्रीले थपे “पीड़ित परिवारलाई चाँड़ोभन्दा चाँड़ो उचित क्षतिपूर्ति र पुनर्वासको व्यवस्था गरियोस्, यो हाम्रो माग हो।”
अर्कोतिर, भारतीय गोर्खा परिसङ्घ असमका पूर्व अध्यक्ष नित्यानन्द उपाध्यायले पनि यो घटनाको निन्दा गरेका छन्।
वनविभागले बिनाप्रकिया जुन प्रकारको कार्य गऱ्यो, त्यो अन्याय-अत्याचारबाहेक अर्थोक केही नरहेको उनको भनाइ छ।
जानकारीका अनुसार ती परिवारहरू त्यस ठाउँमा वर्षौंदेखि बसोबास गरी खेतीकार्य गर्दै आइरहेका थिए।