गान्तोक, २७ मईः यस वर्ष (२०२१)-को डा. शोभाकान्ति थेगिम (लेप्चा) पुरस्कार दार्जीलिङनिवासी साहित्यकार स्नेहलता राईलाई प्रदान गरिनेछ।
राईलाई उनको उपन्यास ‘छोरी’-का लागि यो पुरस्कार प्रदान गरिने भएको हो।
२४ मईका दिन शोभाकान्ति थेगिम (लेप्चा) मेमोरियल ट्रस्टको सभामा चयन समितिले साहित्यकार राईलाई २४औँ डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कार २०२१ प्रदान गर्ने निर्णय लिइएको हो।
डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कार प्रत्येक वर्ष ४ जुलाईका दिन अर्पण गरिन्छ। ४ साहित्यकार स्व. डा. शोभाकान्ति थेगिम (लेप्चा)-को जन्म दिन हो।
यस पुरस्कारअन्तर्गत पुरस्कृत साहित्यकारलाई नगद राशि, ताम्रपत्र साथै प्रमाण-पत्र पनि प्रदान गरिन्छ।
वैश्विक महामारी कोविड-१९ -को बढ्दो प्रकोपले गर्दा गत वर्ष (२०२०) २३औँ डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कार निर्धारित समयमा प्रदान गर्न सकिएको थिएन।
तसर्थ, आउँदो ४ जुलाईका दिन २३औँ र २४औँ डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कार क्रमैले साहित्यकारद्वय शङ्करदेव ढकाल स्नेहलता राईलाई अर्पण गरिने उक्त सभाले निर्णय गरेको हो।
पुरस्कृत साहित्यकारलाई प्रदान गरिँदै आएको नगद रु. २५००१/- लाई बढ़ोत्तरी गरी यस वर्षदेखि रु. ३५,०००/- गरिने विषयलाई पनि सभाले अनुमोदन गर्यो।
यसैले ट्रस्टले सभामा यसवर्ष २०२० र २०२१ दुई वर्षका डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कारद्वारा सम्मानित साहित्यकारद्वयलाई नगद ३५००१/- (भा.रु) प्रति व्यक्ति प्रदान गर्ने निर्णय लिएको छ।
अर्कोतिर, ट्रस्टले वर्ष २०१९-देखि नेपाली सङ्गीत क्षेत्रमा योगदान दिने कलाकारलाई पनि सम्मान जनाउँदै आइरहेको र यसवर्ष २०२०-का पाँचजना तथा २०२१ -का निम्ति चयनित तीनजना गरी कुल आठजना नेपाली सङ्गीत क्षेत्रका कलाकारलाई सम्मान जनाउने निधो गरेको छ।
उनीहरूलाई पनि पुरस्कार अर्पण समारोहकै दिन अर्थात् आउँदो ४ जुलाईकै दिन स्मृति चिह्न, अङ्गवस्त्र र प्रशस्ति-पत्रद्वारा सम्मान जनाइनेछ, जसमा वर्ष २०२०-का चयनित सङ्गीतकारहरू क्रमैले शान्ति ठटाल, किरण रसाइली, सूर्यवीर तुलाधार, देवकुमार दुमी, नन्दलाल कपिल तथा २०२१ का लागि विनोद राई, विमला प्रधान र नरेन्द्र गुरुङ रहेका छन्।
यसैगरी ट्रस्टले आउँदो वर्षदेखि डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कार समारोहको यो महत्त्वपूर्ण प्रकरण स्थगित गर्ने निर्णय पनि लिएको छ, यसमा ट्रस्टले खेद प्रकट गरेको छ।
उल्लेखनीय छ, वर्ष २०२१ -को पुरस्कारका लागि निर्धारित मानदण्ड अनुसार २०१७, २०१८, २०१९ -भित्र सिक्किम र पश्चिम बङ्गालका दार्जीलिङ, कालेबुङ, खरसाङ, मिरिक, गोरुबथान, डुअर्स अनि सिलगढ़ी क्षेत्रका लेखकहरूका नेपाली भाषामा प्रकाशित पुस्तकहरू पुरस्कारका लागि आह्वान गरिएको थियो।
स्मरणरहोस्, पुरस्कृत साहित्यकार स्नेहलता राई विभिन्न साहित्यिक र सामाजिक सङ्गठनसँग संलग्न रहेकी छन्। उनका एक दर्जनभन्दा बढ़ी कृति प्रकाशित छन्। बाल सुमन कविता सङ्ग्रहका लागि उनले अघिबाटै साहित्य अकादमी बाल साहित्य पुरस्कार पनि प्राप्त गरिसकेकी छन्। यसका साथै साहित्यकार स्नेहलता राई अन्य पुरस्कार/सम्मान पनि सम्मानित भइसकेकी छन्।