दार्जीलिङ, 18 फरवरी : केही महिनायता गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले आफ्नो साङ्गठनिक विस्तार र सुदृढ़ीकरणको कार्यलाई तीव्र पारेको छ। यसै क्रममा आइतबार सिंहमारी तकभर समष्टिमा गोरामुमोको नारी सङ्गठन गोर्खा राष्ट्रिय नारी सङ्गठन (जीएनडब्ल्यूओ) गठन गरिएको छ।
गोरामुमोको साङ्गठनिक सचिव किशोर गुरुङको अध्यक्षतामा बसिएको एक सभाबीच गोरानासं गठन गरिएको बताइएको छ।
स्मरणरहोस्, अहिले गोरामुमो साङ्गठनिक विस्तारमा खटिएको छ। विभिन्न ठाउँमा सभा गरी पार्टी विस्तार गर्ने र बलियो सङ्गठन बनाएर आफ्नो गतिविधि तीव्र पार्ने यसलेरनीति अपनाएको छ। यसै क्रममा हिजै कालेबुङमा 21 सदस्यीय कार्यकारी समिति गठन गरिएको थियो।
गोरानासं सिंहमारी तकभर समष्टिमा अध्यक्ष वन्दना चामलिङ, उपाध्यक्ष कविता राई र रञ्जु राई, महासचिव, नीलम सुब्बा, सहसचिव सरु राई, प्रमिला गुरुङ र गिता राई तथा कोषाध्यक्षमा सम्झना राई, समिता राई र रोशनी प्रधान आदि निर्वाचित भएका छन्।
यो कमिटीमा 30 जना कार्यकारी सदस्य रहेको पनि बताइएको छ। सभामा पार्टीभन्दा माथि उठेर जातीय हितका लागि कार्य गर्ने सबैले प्रतिबद्धता व्यक्त गर्दै अहिले स्थितिमा दार्जीलिङ पहाड़का लागि छैटौं अनुसूची उपयुक्त व्यवस्था रहेकोले यसको प्राप्तिका लागि नारी शक्ति एकजुट भएर प्रतिबद्धतासँग पार्टी अध्यक्ष मन घिसिङको हातलाई बलियो बनाउने आह्वान गरियो।