(एक)
छोएर तिमीलाई मर्ने रहर छ
सुमसुम्याइ निधार चुम्ने रहर छ।
नछुने यो कस्तो सजाय दियौ
मनमा आत्मीय अँगाल्ने रहर छ।
अमर को नै छ र यो जिन्दगीमा
काल-परिस्थिति फेर्ने रहर छ।
मेरो रहर सायद रहर नै रहन्छ
देह त्यागसम्म समेट्ने रहर छ।
(दुई)
कुन घड़ी सकिने हो यात्रा आखिर
सवारी साधन नै रहेछ यो शरीर।
गन्तव्य कहाँ छ कसलाई के थाहा
कमी हावाले नै बनाइदिन्छ मुसाफिर।
जानेहरूको होड़ त्यतिकै त्यतिक्कै छ
श्रद्धाञ्जलीको लहरमा छ तस्वीर।
शवहरूको बजार लाग्न थालेको छ
त्यसमा भरपाई गर्ने लागेछ जागिर।
जीवन र प्राणको बिछोड़ कति हेर्नु
हे दैव अब कोरिदेऊ चमत्कारी लकिर।