विद्यार्थीहरूलाई प्राथमिकताको आधारमा कोरोनाको खोप लगाइयोस्: चामलिङ

0
1035

गान्तोक, 31 मईः पूर्व मुख्यमन्त्री एवं सिक्किम डेमोक्रेटिक फ्रण्टका अध्यक्ष पवन चामलिङले विद्यार्थीहरूलाई प्राथमिकताको आधारमा कोरोनाको खोप (टीकाकरण) गरिनुपर्ने बताएका छन्।

जनस्तरबाट आउने प्रश्नहरूका सामयिक रूपमा उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन्।

कोभिड महामारीले शिक्षा क्षेत्रलाई पूर्णतया ध्वस्त पारिदिएको छ। विद्यार्थीहरूले वहन गर्नुपरिरहेको क्षति गहन छ। तपाईं आफ्नो पक्षबाट सरकारलाई के सुझाउ दिनचाहनुहुन्छ? राज्य सरकारले अहिले गरिरहेभन्दा बढ़्ता केही गर्नसक्छ? भन्ने प्रश्नको उत्तर दिँदै चामलिङले भनेका छन्, ‘सर्वप्रथम म के कुरा भन्नचाहन्छु भने विद्यार्थीहरूले बेहोर्नुपरिरहेको क्षति मानिसहरूले ज्यान गुमाउनुपरिरहेको त्रासदीपछिको अर्को सर्वाधिक ठूलो क्षति हो। असङ्ख्य मानिसहरूले नोकरी, स्वास्थ्य, आय, व्यापार, बाहिर निस्कने स्वाधीनता, जीवनको सुखानुभूति गर्ने अवसर इत्यादि गुमाइरहेका छन्। यदि हाम्रो जीवन गुम्दैन भने, हामीले यी क्षतिहरूलाई केही सीमासम्म उद्धार गर्नसक्छौँ। तर हाम्रा विद्यार्थीहरूको भविष्य उनीहरूबाट खोसिएको छ। म हाम्रा विद्यार्थीहरूको हितप्रति गम्भीर रूपले सरोकार राख्दछु, जो हाम्रा भविष्य हुन्।’

उनका अनुसार शिक्षाभन्दा शक्तिशाली अस्त्र कुनै छैन, जसले व्यक्तिलाई सशक्त बनाउँछ। अनि त्यही शिक्षा विद्यार्थीहरूबाट टाढ़ा भाग्दैछ।

‘समस्त पुस्ताहरूले व्यापक, अभूतपूर्व अनि विनाशकारी क्षति बेहोरिरहेका छन्। एउटा भनाइ छ, एउटा पुस्ताले बेहोरेको क्षतिले पछिल्ला पाँच पुस्तासम्मलाई प्रभावित पार्दछ’, पूर्व मुख्यमन्त्री एवं एसडीएफ अध्यक्षले भनेका छन्।

राज्य सरकारले विद्यार्थीहरूले बेहोरेका क्षति एवं उनीहरूका गुनासो अध्ययन गर्न अनिवार्य रूपमा एउटा कमिटीको गठन गर्नुपर्ने, उक्त कमिटी, यसअघि गठन गरिएको इकोनमिक रिभाइभल कमिटीजस्तो नभएर गठन गरिँदा समर्पित र योग्य पेशेवर व्यक्तिहरूलाई सामेल गरिनुपर्ने, विद्यार्थीहरूले सामना गरिरहेका क्षति एवं दुश्चिन्ताहरू अति नै जटिल किसिमका रहेकाले यसको गहन अध्ययन गरिनु आवश्यक रहेको, जुन कमिटी कमिटीले चाँड़ोभन्दा चाँड़ो सम्बोधनयोग्य सिफारिशहरू प्रस्तावित गर्नसकियोस् भन्ने चामलिङको सरकारलाई सुझाउ छ।

उनको आरोपका अनुसार राज्य सरकार यस विषयमा अहिलेसम्म दिशाहीन रहेको छ, जुन यो दुर्भाग्यपूर्ण कुरा हो।

‘हालमा, म कक्षा 10 अनि त्यसभन्दा माथिल्लो कक्षाका विद्यार्थीहरूका बारेमा सोचिरहेको छु, जो आफ्नो भविष्यलाई आकार दिने प्रश्नमा जीवनको सबैभन्दा कठिन विन्दुमा उभिएका छन्। राज्य सरकारले जुलाईदेखि स्कूल खोल्ने लक्ष्यसहित आउँदो जून महिनाभित्र कक्षा 10 अनि त्यसभन्दा माथिका विद्यार्थीहरूलाई प्राथमिकताका आधारमा टीकाकरण गर्नुपर्नेछ। निम्न तहका कक्षाहरूलाई चरणबद्ध रूपमा खोलिँदै लानसकिनेछ’ चामलिङले सरकारले सुझाउ दिँदै भनेका  छन्, ‘भारत सरकारले चाँड़ै फाइजर कम्पनीको खोप आयात गर्नलागिरहेको छ, जुन 12 वर्ष अनि त्यसभन्दा माथिका नानीहरूमाथि टेस्ट गरिएको एकमात्र भ्याक्सिन हो। सिक्किम सरकारले केन्द्रसित सिक्किमका कक्षा 10 अनि त्यसभन्दा माथिका विद्यार्थीहरूलाई भ्याक्सिन लगाउनका लागि लबिइङ गर्न शुरू गरिहाल्नुपर्छ। यो सम्भव छ।’

उनको थप सुझाउका अनुसार राज्यको शिक्षा विभागले योग्य शिक्षाविद्, प्रबुद्ध मानिसहरू एवं शिक्षकहरूको एउटा टीम गठन गर्नपर्छ, जसले विद्यार्थीहरूलाई अभूतपूर्व परिस्थितिसित तादात्म्य राख्न सक्षम बनाउनका लागि एउटा `उपचारात्मक रणनीति’ (Remedial Strategies) तयार पार्नेछ।

कहाँसम्म भने, जतिखेर नियमित कक्षाहरू प्रारम्भ हुनेछन्, त्यतिखेर पनि विद्यार्थीहरूलाई यस्ता उपचारात्मक कक्षाहरूका आवश्यकता हुने र उपचारात्मक कक्षाहरूलाई विद्यार्थीहरूलाई अनलाइन कक्षाको समय भएको क्षतिलाई पूरा गर्न सहयोग गर्नेगरी सञ्चालन गरिनुपर्ने उनको भनाइ छ।

‘सिक्किम सरकारले मोबाइल फोन नेटवर्क अपरेटरहरूलाई राज्यमा राम्रो कनेक्टिविटी सुनिश्चित गर्न निर्देश दिनुपर्नेछ। विद्यार्थीहरूले निकै लामो समयदेखि मोबाइलको कमजोर कनेक्टिविटीको गुनासो गर्दै आइरहेका छन्, जसले उनीहरूको अनलाइन कक्षालाई प्रभावित पारिरहेको छ। थुप्रै विद्यार्थीहरूले यही कमजोर कनेक्टिविटीका कारण कि त कहिल्यै अनलाइन कक्षामा भाग लिएनन् वा बीचैमा छोड़े। उनीहरूले विगत एक वर्षदेखि यस विषयमा गुनासो राख्दै आइरहेका छन्, तर सरकारले उनीहरूको आर्त्तनादलाई सुनेकै छैन’. चामलिङले थप भनेका छन्, ‘सरकारले अविलम्ब मानिसहरूको, विशेषगरी विद्यार्थीहरूको मानसिक स्वास्थ्यसम्बन्धी विषयको आकलन गर्ने प्रक्रिया शुरू गर्नपर्नेछ। संसारभरिका मनोचिकित्सकहरूले सरकारहरूलाई यस विषयलाई गम्भारतापूर्वक लिन आग्रह गरिरहेका छन्। कोविड महामारीसित सम्बन्धित मानसिक तनाव अनि जम्मै किसिमका अवसादहरूसित जुझ्नका लागि विद्यार्थीहरूलाई सहयोग गर्नुपर्ने अत्यन्त ठूलो जिम्मावारी हामीमाथि आइपरेको छ। म सरकारलाई योग्य मनोचिकित्सक एवं डाक्टरहरूको एउटा टीम बनाउन सुझाउ दिनचाहन्छु।‘

एसडीएफ अध्यक्षका अनुसार सरकारले सरकारबाहिरबाट आएका कुनै पनि सुझाउलाई बेवास्ता गरिरहेको छ।

चामलिङको आरोपका अनुसार सरकारकै घमण्डले महामारीलाई अझै हावा दिइरहेको छ।

साथै सरकारले यी सुझाउहरूलाई पनि राजनीतिक रूपमा हेर्न नहुने उनको भनाइ छ।

‘यो मानिसहरूका कल्याणका लागि हाम्रो सुझाउ हो। सरकारले हाल हुनगएका गल्तीहरूलाई स्वीकार गर्न विनम्र हुनपर्नेछ तथा सुझाउहरूलाई आत्मसात गर्नुपर्नेछ’, पूर्व मुख्यमन्त्री एवं एसडीएफ अध्यक्ष पवन चामलिङले थप भनेका छन्, ‘परिस्थितिमा सुधार ल्याउनका लागि हामीले जे पनि गर्न इच्छुक हुनुपर्नेछ। याद राख्नुहोस्, हाल सिक्किम मात्रै यस्तो राज्य हो, जो रेड जोनमा छ।‘

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here