मिरिक, ३ जूनः मिरिकमा आजदेखि कोरोना सङ्क्रमितहरूका लागि सुरक्षित घर शुरू भएको छ।
मिरिक विद्यालयमा बनाइएको यो सुरक्षित घरको उद्घाटन मिरिक नगरपालिकाका अध्यक्ष एलबी राईको हातबाट गरियो।
यस अवसरमा मिरिक महकुमा शासक जामिल फतिमा जेबा, जीटीए स्वास्थ्य विभागका कार्यकारी निर्देशक सामदेन डुक्पा, मिरिक महकुमाका डीएमडीसी मृदुल श्रीमणी, मिरिक महकुमाका एसडीपीओ रूद्ध नारायण साव, मिरिक खण्ड विकास अधिकारी विप्लव कुमार रोयलगायत अन्य उपस्थित थिए।
उद्घाटनपछि पत्रकारहरूलाई सम्बोधन गर्दै मिरिक खण्ड प्राथमिक स्वास्थ्य केन्द्रका बीएमओएच डा. टाशी लामाले उद्घाटित यो सुरक्षित घरमा पचासवटा पलङ रहेको र यसमा केवल कोरोना सङ्क्रमितहरूलाई राखिने जानकारी गराए।
उनका अनुसार यो सुरक्षित घरमा चारवटा अक्सिजन कन्सन्ट्रेटर, ६ वटा सिलिण्डरलगायत आवश्यक सामग्रीहरूसहित तीनजना चिकित्सकको निगरानीमा रहने पनि बताए।
बीएमओएच डा. लामाका अनुसार दुईजना चितित्सक सधैँ यसै सुरक्षित घरमा रहनेछन् भने एकजना चिकित्सकले मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्रमा बसेर सेवा पुऱ्याउनेछ।
यसैगरी यहाँ अन्य स्वास्थ्यकर्मीहरूले कोरोना सङ्क्रमितहरूको हेर्चाह गर्नेछन् भने यहाँ शौचालय, खाना, पानी आदि सबैको व्यवस्था रहेछन्।