नयाँ परितन्त्रीय रूपान्तरणको पवित्र क्रान्ति : विश्व पर्यावरण दिवस, 2021

0
1249

-पवन चामलिङ

पर्यावरणको अधिकार विश्वका सबैभन्दा महत्त्वपूर्ण अधिकारहरूमध्ये एउटा हो। पर्यावरण एउटा सबैभन्दा ठूलो वैश्विक मुद्दा पनि हो। हाम्रो जीवन अनि हाम्रो ग्रहको उत्तरजीविता (survival) पर्यावरणमाथि नै भर पर्दछ, अतः हामीले यसको सुरक्षाका लागि जुनै पनि कामहरू गर्नुपर्नेछ। पर्यावरण अनि जीवित प्राणीहरूबिचको सम्बन्ध हृदय अनि स्पन्दनझैं परस्पर सम्बद्ध छ।

पर्यावरण सर्वस्व प्रदानकारी छ अनि मानवताको थालनीदेखि नै यसले हामीलाई हाम्रा जम्मै प्राकृतिक आवश्यकताहरू प्रदान गरेको छ। हामीलाई जीविका प्रदान गर्नुभन्दा पनि पर पर्यावरणले हाम्रो संस्कृति र जीवनशैलीलाई एउटा आकार दिएको छ। यद्यपि, आज यो कुरा प्रत्यक्ष छ, कि पर्यावरण अब हाम्रो लोभ, अहङ्कार तथा हाम्रो उपभोक्तावादी, पर्यावरणविरोधी अनि अप्राकृतिक जीवनशैलीलाई पूरा गर्न सक्षम छैन।

पर्यावरणमाथि हामीले हाम्रा अपार आग्रहहरूको भारी थोपिदिएकाले हाम्रो पर्यावरणमाथि ठूलो हस्तक्षेप हुनपुगेको छ। यो हस्तक्षेप विशेष गरी हाम्रो बढ़्दो जनसङ्ख्याको कारण झनै घनीभूत हुनपुगेको छ, जसले हाम्रो प्राकृतिक संसाधनमाथि थप दबाउ सिर्जना गर्दछ।

विज्ञान एवं तक्निकीको क्षेत्रमा भएका कतिपय विकासक्रमले यस्ता नयाँ खोजहरूतर्फ लगेको छ, जसले पर्यावरणमाथिको दबाउलाई झनै बढ़ाइदिएको छ। उदाहरणका लागि, हरित क्रान्तिको नाममा हामीले हाम्रा जमिनहरूलाई रसायनहरूले बिखालु बनाइपठाएका छौँ। दोस्रो विश्वयुद्धपछि कृषिको क्षेत्रमा उत्पादन बढ़ाउनका लागि थुप्रै तक्निकी आविष्कारहरू भएका छन्। कृषि रसायन अनि उच्च फलनकारी बालीहरूको प्रयोगसहितको हरित् क्रान्तिले उत्पादनमा निश्चित रूपमा बढ़ोत्तरी ल्यायो, तर पर्यावरणमाथि यसको विनाशकारी प्रभाव पनि बढ़्दैगयो। यस विनाशप्रतिको हाम्रो जवाफ थियो – जैविक कृषिलाई आत्मसात गर्नु।

आज, हरित् क्रान्तिको जवाफमा सिक्किमले 100 प्रतिशत उच्च फलनकारी जैविक कृषि सम्भव रहेको वैश्विक रूपमा स्थापित गरेको छ।

मानवीय हस्तक्षेपले हाम्रो पर्यावरणलाई अति नै असन्तुलित बनाइदिएको छ अनि यो हामी बढ़्दो तापमान, भीषण चक्रवात, सुखौरो अनि खाद्यान्नको कमीका रूपमा देख्न पाइरहेका छौं। द्वन्द्व, गरीबी अनि महामारीहरूदेखि लिएर वैश्विक तापवृद्धिजस्ता हाम्रा जम्मै मुद्दाहरू मानवनिर्मित हुन्। मानवीय क्रियाकलापहरूकै कारण हाम्रो यस ग्रहमा निवास गरेका 99 प्रतिशत प्रजातिहरू विलुप्त भइसकेका छन् भने यो प्रक्रिया जारी छ। हाम्रा नदीहरू सुक्दै गइरहेका छन् भने समुद्रको सतह बढ़िरहेको छ, साथसाथै हाम्रा सागर र समुद्रहरू प्लास्टिकहरूले भरिँदैछन्। समुद्रहरूको अम्लीकरण जसरी हाम्रा लागि महान् चुनौती हुन् भने हाम्रा हिमाल र ग्लेशियरहरू पग्लिनु पनि उस्तै चुनौती हुन्। खानेपानीको उपलब्धता भविष्यमा जल्दोबल्दो मुद्दा हुनजानेछ। वस्तुहरूको वैश्विक मागलाई पूरा गर्न हामीले हाम्रा वन-जङ्गलहरू मासिरहेका छौं। के विश्वास गरिँदैछ भने बीफ, सोया, पाम तेल अनि दाउरा, यी चारवटा यस्ता वस्तुहरू हुन्, जो कटिबन्ध क्षेत्रहरूमा वनविनाशका मुख्य कारण हुन् अनि जहाँ हिजोआज अधिकांश वनविनाशका गतिविधिहरू केन्द्रित छन्।  वनविनाश यसकारण पनि खतरनाक छ कि, 15 -देखि 20 प्रतिशत ग्रीनहाउस ग्यासको उत्सर्जन वनहरूको कटाइकै कारण भइरहेको छ।

यस सन्दर्भमा, सिक्किममा हामीद्वारा रूख काट्नमा लगाइएको प्रतिबन्धले हामीलाई अरूभन्दा अलग्ग र हाम्रो वन्य क्षेत्रमा अभिवृद्धिले सिक्किमलाई विश्वमा उदाहरणीय बनाएको छ।

‘नासा’ -अनुसार, पृथ्वी विगत ‘‘1000 वर्षमा’’ अभूतपूर्व रूपमा तात्तिइँदै गइरहेको छ। यसका मुख्य कारणहरूमा कार्बन उत्सर्जन बढ़्नु हो। प्रतिवर्ष 2.65 मेट्रिक गिगाटोन कार्बन उत्सर्जन गरी वैश्विक कार्बन उत्सर्जनमा 7 प्रतिशतको योगदान दिने भारत विश्व कार्बन फूटप्रिण्टमा तेस्रो स्थानमा छ। चीन 28 प्रतिशत कार्बन उत्सर्जन गरेर विश्वको सर्वाधिक ठूलो योगदानकर्ता हो।

संसारभरिका देशहरूको सरकारले आफ्नो देशको उपभोग प्याटर्नको समीक्षा गरेर कार्बन फूटप्रिण्ट घटाउन उपयुक्त कानूनहरू लागु गर्नुपर्नेछ। त्यसमध्ये एउटा माध्यम हो – केवल अ-प्रदूषणकारी उद्योगहरूको स्थापना गर्ने नीति ग्रहण गर्नु अनि प्रदूषणकारी उद्योगहरूमा कठोर कार्बन ट्याक्स लगाउनु। कार्बन उत्सर्जनको क्षेत्रमा सबैभन्दा ठूलो भूमिका वाहनहरूको रहनेगरेको देखिन्छ। प्रकृत अर्थमा एउटा यात्रुवाही वाहनले प्रतिवर्ष 4.6 मेट्रिक टन कार्बन डाइअक्साइड उत्सर्जन गर्नेगर्दछ। हामीले ग्यास, कारमाथिको हाम्रो निर्भरतालाई घटाउँदै लैजानुपर्दछ अनि अटोमोबाइल उद्योगमाथि पुनर्विचार गर्नुपर्दछ। यो पनि एउटा चिन्ताजनक कुरा हो कि पर्यावरणमाथि गम्भीरतापूर्वक सोच्ने अनि क्षतिलाई कम गर्ने कुनै ठोस वैश्विक प्रयत्न देखिँदैन। अत्यधिक कार्बन फूटप्रिण्ट उत्सर्जन गर्ने पर्यटन उद्योगलाई पर्यावरणसित तादात्म्य राख्नेगरी विकसित गरिनुपर्दछ। हामीले रासायनिक एवं अजैव पदार्थमुक्त विश्वको लक्ष्य राख्नुपर्दछ। यसको साथसाथै हामीले हावा, पानी, माटो, ऊर्जा अनि काँचो पदार्थजस्ता प्राकृतिक संसाधनहरूलाई संरक्षण अनि दीर्घमियादी ढङ्गमा उपयोग गर्नुपर्दछ।

आज, जलवायु परिवर्तनले जम्मै राष्ट्रहरूलाई समाप्त पारिदिने खतरा अघि आएको छ। किरिबाती गणतन्त्र एउटा यस्तो उदाहरण हो, जसले पूर्ण रूपमा विस्थापन हुने खतराको सामना गरिरहेको छ। माया सभ्यताको उदाहरण लिँदै विशेषज्ञहरूले पर्यावरणीय अपक्षय, सुखौरो अनि अति जनसङ्ख्यालाई सामुहिक विनाशका कतिपय कारणहरू बताएका छन्। वर्ष 2020 -मा मात्रै, युद्धका कारणले भन्दा जलवायु परिवर्तनका कारणले धेर मानिसहरू विस्थापित भए। सिक्किममा पनि हामी निकट भविष्यमा यस्तो अवस्था देख्नपाउनेछौं। भविष्यमा सिक्किम पानीको कारण, विशेष गरी दक्षिण, अनि पश्चिम र पूर्व जिल्लाका केही भागहरूमा जलवायु परिवर्तनजन्य विस्थापनको साक्षी बन्नुपर्नेछ। अतः काम गरिहाल्नुपर्ने समय यही हो।

सन् 2016 -मा वैज्ञानिक स्टीफन हकिङले भनेका थिए – ‘‘हामी मानवताको विकासको अत्यन्त खतरनाक क्षणमा छौं। हामीसित अहिलेघरी हामी बस्ने ग्रहलाई विनाश गर्ने तक्निकी छ, तर यसबाट उम्कने योग्यता विकसित गरिहालेका छैनौं।’’

यदि हामी यही रफ्तारमा अघि बढ़िरह्यौं भने हामीलाई हाम्रा मागहरू पूरा गर्न एउटाभन्दा धेर पृथ्वीहरूको आवश्यकता पर्नजानेछ। यस्ता खबरदारीहरूलाई ध्यानमा राख्दै अनि हामी वरिपरि भइरहेका परिवर्तनहरूमाथि नजर पुऱ्याउँदै हामीले आजैदेखि काम थाल्नुपर्नेछ।

अहिलेघरी विनाशकारी महामारी हाम्रो अघिल्तिरै छ। विशेषज्ञहरूको रायमा कोभिड-19 जस्ता महामारीहरू निरन्तर आइरहनेछन् अनि जलवायु परिवर्तनले यस्ताहरूलाई डोहोऱ्याइरहनेछन्। हाम्रो विश्व स्पेनिश फ्लु (1918-1920), इन्फ्लुएञ्जा महामारी वा एशियन फ्लु (1957-1958). हङकङ फ्लु (1968-1969) लगायत असङ्ख्य महामारीहरूको साक्षी बनेको छ। हामीले कोरोना भाइरस महामारीको कारण लगभग 37 लाख मानिसहरू गुमाइसकेका छौं। आज हामीले सामना गरिरहेको प्रतिक्रिया पर्यावरणप्रति हामीले गरेको हिंसाको प्रतिवादस्वरूप आएको हो।

आज हामी मानवताको ढलानमा छौं। पर्यावरणविद्हरूको तर्फबाट आएका चेताउनीहरूलाई हामीले त्यही गम्भीरतासँग विचार गरेका छैनौं। के कुरा स्पष्ट छ भने सन् 2016 -को पेरिस सम्झौताले निर्धारण गरेअनुसार औद्योगिकीकरणभन्दा अघिको तापमानभन्दा 2 डिग्री सेल्सियस कम तापमान हासिल गर्ने लक्ष्यलाई हासिल गर्नबाट हामी टाढ़ा छौं। हामीले धेरै लामो यात्रा तय गर्नुछ र हामी अघिल्तिर उभिएको चुनौती तात्कालिक महत्त्वको छ।

इतिहासमा हामीले धेरै क्रान्तिहरू देखेका छौं। आज हामी डिजिटल क्रान्तिको साक्षी बनिरहेका छौं, जहाँ कृत्रिम बुद्धिमत्ता र स्वचालन उद्योगहरूमाथि हावी भइरहेका छन् र हामीले काम गर्ने तरीकाहरूलाई फेरिरहेका छन्। फ्रान्सेली क्रान्तिदेखि औद्योगिक क्रान्तिसम्म हामी धेरै उतार-चढ़ाउहरूको साक्षी बनेका छौं, जसले संसारलाई नै परिवर्तन गरिदिएको छ।

आज हामीले नयाँ क्रान्तिको थालनी गर्नुपरेको छ – एउटा क्रान्ति, जसलाई हामी परितन्त्रीय क्रान्ति भन्नसक्छौं। यसका लगि, हामीले हाम्रो उपभोग क्रिया, जीवन, नीति निर्धारण, सरकार एवं संस्था सञ्चालन अनि पर्यावरणप्रतिको व्यवहारमा आधारभूत परिवर्तन ल्याउने साहस देखाउनुपर्दछ। हामीले हाम्रो जीवनशैली अनि हाम्रा जीवनमूल्यअनुरूप आफूलाई ढाल्न पवित्र क्रान्तिमा होम्नुपर्नेछ। सिक्किममा यसलाई ध्यानमा राखेर हामीले यस्ता नीतिहरूको निर्माण गऱ्यौं, जसको केन्द्रमा पर्यावरणको सुरक्षा निहित थियोः

1.    सन् 1995 -मा सरकार गठन गर्नासाथ हामीले उक्त वर्षलाई ‘हरित् क्रान्ति वर्ष’ घोषणा गऱ्यौं। हामीले पर्यावरण सम्बन्धी सामुहिक समझदारी अनि संरक्षण सम्बन्धमा जागरूकता कार्यक्रमहरूको सञ्चालन गऱ्यौं।

2.    हामीले केवल अ-प्रदूषणकारी उद्योगहरू स्थापना गर्ने नीति निर्धारण एवं ग्रहण गऱ्यौं। यसको अंशको रूपमा हामीले फेरो एलोय उद्योगहरूलाई सिक्किमबाट फिर्ता लियौं।

3.    हामीले राथोङचु जलविद्युत परियोजना फिर्ता लियौं।

4.    हामीले  14 अगस्त, 1998 -मा सिक्किममा प्लास्टिक एवं अजैविक पदार्थहरूको प्रयोगमा प्रतिबन्ध लगायौं, जसका लागि हाम्रो राज्यले देशभरि प्रशंसा बटुल्यो। प्लास्टिक उद्योगहरूले कार्बन उत्सर्जनमा सहयोग पुऱ्याउने हुनाले यो निर्णय अत्यन्त कठिन थियो। एक केजी प्लास्टिकको उत्पादन गर्दा 6 केजी कार्बन उत्सर्जन हुन्छ।

5.    5 जून, 1999 -को दिन हामीले ‘स्मृति वन’ -को कार्यक्रम सिक्किममा शुरू गऱ्यौं। राज्यका 166 वटा ग्राम पञ्चायत एकाइहरूमा यस्ता स्मृति वनहरूको स्थापना गऱ्यौं।

6.    सन् 2001-2010 -लाई ‘पर्यावरण क्रान्ति दशक’ -को रूपमा घोषित गऱ्यौं। यस अवधिमा सरकारले पर्यावरणको सुरक्षा गर्न तथा जनजागरण तयार गर्न विभिन्न कार्यक्रम तथा गतिविधिहरूको थालनी गरियो।

7.    हामीले उत्तर सिक्किममा सेनाबाट 17,240 हेक्टेयर जी-फाइरिङ रेज भूमि फिर्ता लियौं, जुन पूर्व सरकारले प्रदान गरेको थियो।

8.    हामीले कञ्चनजङ्घालगायत 8 वटा हिमाली चुचुरामा आरोहण गर्नमा प्रतिबन्ध लगायौं। कुनै पनि रूपमा पवित्र पोखरी वा चट्टानहरूको आरोहणलाई हाम्रो सरकारले गैर-कानुनी घोषित गऱ्यो।

9.    वन एवं वन्यजीव संरक्षणको दिशामा एकीकृत कानुनी प्रावधान तयार गर्ने सिक्किम देशको पहिलो राज्य थियो।

10.  हामीले वन विनाशसँगै वन्य क्षेत्रमा गौचरन, अनि वन्यजीवको हत्यामा प्रतिबन्ध लगायौं।

11.  वर्ष 2002 -मा हामीले राज्यका जम्मै स्कूलहरूमा ‘इको क्लब’ -हरूको गठन गर्न शुरू गऱ्यौं।

12.  सिक्किमको समृद्ध परितन्त्रीय प्रणाली अनि स्वच्छ पर्यटनलाई प्रोत्साहन दिने हाम्रो प्राथमिकतालाई ध्यानमा राख्दै 13 अक्टोबर, 2004 -देखि सिक्किममा परि-पर्यटन शुरू गर्ने नीति ग्रहण गरियो।

13.  सन् 2005 -मा हामीले पर्यावरण महोत्सव आरम्भ गऱ्यौं।

14.  हामीले 27 फरवरी, 2006 -को दिन हरित् अभियान आरम्भ गऱ्यौं।

15.  वर्ष 2007 -मा हामीले राज्य वन्यजीव बोर्डको गठन गऱ्यौं, जसलाई पछिबाट ग्लेशियर अनि जलवायु परिवर्तन आयोगको रूपमा पुनर्गठन गरियो।

16.  हामीले वर्ष 2009 -मा अत्यन्त मौलिक ‘पृथ्वीलाई 10 मिनट’ कार्यक्रम शुरू गऱ्यौं, त्यसपछिदेखि प्रतिवर्ष 25 जूनको दिन ‘पृथ्वीलाई 10 मिनट’ दिवसको रूपमा मनाइन्छ।

17.  सन् 2009 -मा राज्य प्रदूषण नियन्त्रण बोर्डको गठन गरियो।

18.  सिक्किममा दाउराका लागि रूख ढाल्ने प्रथामाथि प्रतिबन्ध लगाइएकाले ग्रामीण क्षेत्रहरूमा निःशुल्क एलपीजी कनेक्शन वितरण शुरू गरियो।

19.  हाम्रा पर्यावरणकेन्द्रित नीतिहरूलाई समर्थन एवं सहयोग पुऱ्याउन इको डेवलपमेण्ट बोर्ड, स्टेट वाइल्डलाइफ एडभाइजरी बोर्ड, स्टेट मेडिसिनल प्लाण्ट बोर्डलगायत यस्ता थुप्रै संस्थाहरूको गठन गरियो।

20.  स्कूलका पाठ्यक्रमहरूमा पर्यावरण शिक्षा तथा जैविक खेतीलाई समावेश गरियो।

21.  वर्ष 2014 -मा, पटेका बिक्री एवं पड़्काउनमा प्रतिबन्ध लगाइयो।

22.  वर्ष 2015 -मा, डाइक्लोफेनक सोडियमको प्रयोग अनि लोसे पोल्नमा प्रतिबन्ध लगाइयो।

23.  वर्ष 2013 -मा, राज्यका पुराना वृक्षहरूलाई राज्यको धरोहर वृक्षको रूपमा चिन्हित गरियो।

24.  हामीले सिक्किमका जम्मै वन्यजीव क्षेत्रहरूलाई सूचीकृत गऱ्यौं अनि पछि यसको परिणामस्वरूप जुलाई, 2016 -मा युनेस्को-द्वारा यसलाई मिश्रित क्याटरोगीमा प्राकृतिक एवं सांस्कृतिक महत्वको क्षेत्रको रूपमा कञ्चनजङ्घा नेशनल हेरिटेज पार्क घोषणा गराउन सफल भयौं।

25.  हाम्रो पर्यावरणपक्षीय नीतिहरूको फलस्वरूप सिक्किमको वन्य क्षेत्रलाई सन् 1993 -को 43.95 प्रतिशतबाट बढ़ाएर सन् 2016 -मा 47.80 प्रतिशत पुऱ्याउन सफल भयौं, जुन संसारमै एउटा उपलब्धि हो, जहाँ सर्वत्र वन्यक्षेत्र मासिनु आम मानिन्छ।

26.  हाम्रो हरित् कार्यक्रमहरूको फलस्वरूप नयाँ दिल्लीस्थित सेण्टर फर साइन्स एण्ड इन्भायरोन्मेण्टले मलाई सन् 1998 -मा देशको ‘सबैभन्दा हरित् मुख्यमन्त्री’ -को रूपमा पुरस्कृत गऱ्यो।

27.  सिक्किमले सन् 2008 -मा ‘देशको सबैभन्दा स्वच्छ राज्य’ सँगसँगै यसै वर्ष ‘निर्मल राज्य पुरस्कार’ पनि प्राप्त गऱ्यो।

28.  लोनली प्लानेटले वर्ष 2014 -का लागि सिक्किमलाई विश्वका 10 वटा भ्रमणयोग्य क्षेत्रहरूमा पहिलो स्थानमा राख्यो। वर्ष 2016 -मा, न्यूयोर्क टाइम्सले सिक्किमका विश्वको 17औं भ्रमणयोग्य ठाउँको रूपमा चिन्हित गऱ्यो।

29.  क्यालिफोर्नियाका तत्कालीन गवर्नर आर्नोल्ड स्वार्जनेगरको व्यक्तिगत निमन्त्रणामा मैले 18-19 नोभेम्बर, 2008 -को दिन जलवायु परिवर्तन सम्बन्धी ग्लोबल समीटमा अंशग्रहण गर्ने सौभाग्य प्राप्त गरेको थिएँ। समीटमा जलवायु परिवर्तन सम्झौतामा भारतको तर्फबाट हस्ताक्षर गर्ने म एकजना रहेको थिएँ।

30.  वर्ष 2003 -देखि 31 दिसम्बर, 2015 -को बीच हामीले सिक्किमलाई भारतको मात्र नभेर विश्वकै एकमात्र र पहिलो जैविक राज्य बनाउने त्यन्त चुनौतीपूर्ण नीतिगत निर्णयलाई कार्यान्वयन गऱ्यौं। सिक्किममा यस्तो कुनै उदाहरण थिएन अनुकरण गर्ने अनि यस मिशनलाई लागु गर्ने जनशक्ति थिएन। हामीले शून्यबाटै शुरू गर्नुपर्ने थियो। 18 जनवरी, 2016 -को दिन भारतका सम्माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले सिक्किमलाई पूर्ण रूपमा जैविक राज्यको रूपमा घोषणा गर्नुभयो।

मैले निरन्तर रूपमा राष्ट्रिय विकास परिषद्, योजना आयोग अनि पूर्वोत्तर राज्यहरूको परिषद्का बैठकहरूमा जैविक खेतीको विषय उठाएको छु।

दुर्भाग्यवश, भारतमा जैविक खेती अनि यसको महत्वको विषयमा लगभग कुनै चासो देखिएको छैन। यद्यपि, सिक्किममा हामीले कायम गरेको उदाहरणको फलस्वरूप जैविक खेतीलाई राष्ट्रिय कार्यक्रमको रूपमा ग्रहण गरिएकोमा म औधी खुशी छु। आज जैविक खेती देशमा चर्चाको विषय बनेको छ।

मलाई लाग्दछ, जैविक खेती हाम्रो ग्रह अनि भविष्यको सुरक्षा गर्ने साँचो हो। वैज्ञानिकहरूको मतमा 50 प्रतिशत कार्बन डाइअक्साइडको उत्सर्जन आधुनिक खेतीको प्रचलनबाट भइरहेको छ, जुन कृषि रसायनमाथि आधारित छ। यदि हामी सबै जैविक खेतीतर्फ ढल्कियौं भने हामीले स्वतः 50 प्रतिशत कार्बन उत्सर्जनलाई घटाइरहेका हुनेछौं। प्रदूषण आधा घट्नेछ अनि हामीसित स्वस्थ परितन्त्रीय प्रणाली उपलब्ध हुनेछ।

यद्यपि सिक्किमको जैविक खेतीले आफ्नै राज्य अनि देशमा उस्तो प्रशंसा पाएन, तर संयुक्त राष्ट्र संघ अनि वर्ल्ड फ्युचर काउन्सिलजस्ता संस्थाहरूबाट वैश्विक मान्यता पायौं। सिक्किममा, प्रशंसा पाउनको साटो विपक्षी पार्टीहरूले यो अभियान शुरू हुँदा अनि पूर्ण रूपमा जैविक राज्य बन्दा समेत हाम्रो नीतिगत निर्णयको विरोध गरे। यद्यपि, टेरी -द्वारा सन् तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीको बाहुलीबाट 2016 -मा ‘सस्टेनेबल डेवलपमेण्ट लीडरशीप अवार्ड’, सन् 2017 -मा लिगाऊ, जर्मनीमा रापुञ्जेलद्वारा ‘वान वर्ल्ड अवार्ड ग्राण्ड प्रिक्स अवार्ड’, वन्दना शिवा, नयाँ दिल्लीद्वारा सन् 2017 -मा ‘एम्बासेडर अव् एन अर्ग्यानिक हिमालय एण्ड एन अर्ग्यानिक वर्ल्ड अवार्ड’, सन् 2018 -मा रोम, इटालीमा वर्लड फ्युचर काउन्सिल, संयुक्त राष्ट्रसंघद्वारा ‘फ्युचर पलिसी गोल्ड अवार्ड’ मार्फत् विभिन्न वैश्विक सङ्गठनहरूले सिक्किमलाई विश्वको पहिलो पूर्ण रूपले जैविक राज्यको रूपमा प्रशंसा गर्नु हाम्रो उपलब्धि रहेको छ।

एकजना मुख्यमन्त्रीको रूपमा मैले यस्ता धेरैवटा नीतिगत निर्णयहरू लिएँ, जुन राजनीतिक रूपमा चुनौतीपूर्ण भए पनि ती सिक्किमे जनताको लाभको निम्ति थिए। राजनीतिक रूपमा घातक हुनसक्ने भयको कारण धेरैजना राजनीतिज्ञहरू यस्ता निर्णय लिनबाट पछि हट्दछन्। राजनैतिक कार्यक्रमको रूपमा पर्यावरण संरक्षण प्रायःजसो सर्वोच्च प्राथमिकताको विषय हुनेगर्दैन। यो सोचमा परिवर्तन आउनुपर्छ।

आजको आवश्यकता के हो भने संसारभरिका राजनैतिक नेता तथा पार्टीहरूले ‘सबैभन्दा पहिले पर्यावरण’ भन्ने निर्भीक निर्णय लिनुपर्दछ। हाम्रा जम्मै विकासीय मोडलहरूले पर्यावरणीय स्वास्थ्यलाई आर्थिक उत्पादकताभन्दा प्रगतिको मानदण्ड बनाउनुपर्दछ। जम्मै राष्ट्रहरूले जीडीपीको घोषणा गर्नुसँगै पर्यावरणीय स्वास्थ्यलाई नाप्ने फ्रेमवर्क निर्धारण गर्नुपर्दछ। यसलाई दण्डात्मक रूपमा प्रयोग गरिनु होइन, तर त्यसको सट्टा कार्बन फूटप्रिण्टलाई घटाउने, खोजमूलक एवं पर्यावरणकेन्द्रित विकासीय मोडलको विकास गर्ने अनि पर्यावरण संरक्षणको वैश्विक प्रयासलाई सघाउ पुऱ्याउने ज्ञानको विकासमा लागेका राष्ट्रहरूलाई चिन्हित गर्नमा प्रयोग गरिनुपर्दछ। यसका लागि पर्याप्त जोखिम मोल्ने अनि नवोन्मेषी सोचको आवश्यकता छ। हाम्रो अस्तित्वलाई अत्यन्त जोखिममा पारिरहेको पर्यावरणीय क्षयसित जुझ्न विभिन्न सरकारहरू अनि वैश्विक समुदायबीच वैश्विक साझेदारी कायम गरिनुपर्दछ।

हामीलाई आवश्यकता छ एउटा परितन्त्रीय क्रान्तिको। अहिलेसम्म, मानवताले आफ्ना वास्तविक आवश्यकताहरूभन्दा धेरै बढ़ी हाम्रा अन्त्यहीन माग र चाहनाहरूलाई पूरा गर्न पृथ्वी अनि हाम्रा संसाधनहरूको लूट मच्च्याइरहेको छ। यो उक्त क्षति अनि पर्यावरणप्रति हामीले गरेको हिंसालाई रोक्ने समय हो। यो समय परितन्त्रीय रूपान्तरणको पवित्र क्रान्तिलाई अप्नाउने समय हो, जसमा हामी व्यक्तिको रूपमा, संस्थाको रूपमा, वैश्विक उत्पादन श्रृङ्ख्लाको रूपमा, पर्यावरण संरक्षणको नायकको रूपमा आत्म-परिवर्तनको चरणबाट गुज्रन्छौं। यो पवित्र क्रान्ति तपाईं अनि मबाट शुरू हुनुपर्दछ। पर्यावरणको विषय वैश्विक विषय हो अनि यसलाई वैश्विक तहबाटै समाधान गरिनुपर्दछ, तर सबैभन्दा महत्वपूर्ण रूपमा भने स्थानीय एवं व्यक्तिगत तहबाट गरिनुपर्दछ। प्रत्येक अनि सबै व्यक्तिहरूको सहभगिताबिना हामी धेरै अघि जानसक्दैनौं। प्रगति सम्बन्धी चिन्तनप्रणालीमा परिवर्तन ल्याउँदै हामी यस नवीन परितन्त्रीय क्रान्तिको वाहक बन्नुपर्दछ।

यदि हामीले प्रगतिको अर्थलाई पुनर्परिभाषित गर्ने हो भने हाम्रा सरकार अनि हाम्रा संस्थाहरूले प्रगतिको यस नवीन आदर्शलाई आत्मसात गर्नुपर्दछ। यस नयाँ परितन्त्रीय क्रान्तिमा संसारका 8 अरब हामीले हाम्रो भविष्यको लागि पर्यावरणको सुरक्षा गर्न सामाजिक छेकाबारको रूपमा कार्य गर्नुपर्नेछ। आउनुहोस् आज त्यो प्रतिज्ञा लिऊँ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here