खरसाङ, 6 जूनः आज (आइतबार) बिहानै खरसाङ बजारदेखि केही टाढ़ा गौरी शङ्करस्थित रोहिणी रोडमा मारुती भ्यान दुर्घटना हुँदा तीनजना युवक घाइते भएका छन्, जसमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ।
घाइतेहरूलाई स्थानीय मानिसहरूको सहयोगमा पुलिसले तत्कालै उपचारका लागि खरसाङ महकुमा अस्पतालमा भर्ना गरिएको छ।
उक्त मारुती भ्यान मूल सड़कबाट 300 फुट तल झरेको थियो। घाइते हुनेहरूमा अजय थापा (23), निश्चल छेत्री (20) र निखल राई (20) रहेका छन्, जसमध्ये अजय थापा अवस्था केही गम्भीर रहेको बताइएको छ।
जानकारीका अनुसार घाइते सबै सोनादा पचेङनिवासी हुन्।
घाइतेहरूले बताएअनुसार उनीहरू वाहनका लागि पेट्रोल खोजिरहेका थिए। खरसाङमा पेट्रोल नपाएपछि उनीहरू सिलगढ़ीतर्फ गइरहेका थिए, तर गौरी शङ्कर चियाकमान पुगेपछि दुर्घटनामा परेका हुन्।
उनीहरूका अनुसार दुर्घटना बिहान करिब 6:30 बजी भएको हो।