गान्तोक, 7 जूनः 1 जूनको दिन स्वीस गार्नियर युनिट (दुई) फार्मा कम्पनीमा कार्यरत् महिला श्रमिकमाथि एसकेएम पार्टीका क्षेत्रस्तरीय युवा मोर्चा उप-संयोजक सुकवीर भुजेलले हातपात र कुटपिट गरेको कुकृत्यबारे एसकेएम नारी शक्तिको मौनताबारे विपक्षी एसडीएफ पार्टीले प्रश्न गरेको छ।
“एसकेएम नारी शक्तिका आइरन लेडीहरू यसबेला कहाँ छन्? नारी शक्तिका ठूलो ओहोदामा बसेका सरकार र महिलाहरूको ब्रिज बन्ने डङ्का पिट्ने नेतृहरू कहाँ छन्?”, यस्तो प्रश्न गर्दै एसडीएफ चेली मोर्चा महासचिव (पूर्व जिल्ला) सकुन गुरुङले एक प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, “महिला श्रमिकमाथि भएको यस प्रकारको घोर अत्याचारमाथि एसकेएम नारी शक्तिका नेतृहरूले यति दिन बितिसक्दा पनि कुनै बयान तथा प्रतिबद्धता जाहेर नगर्नु अत्यन्त निन्दनीय विषय हो।”
राज्यमा घटिरहेका अनेकौं असामाजिक घटनाहरूले एसकेएम सरकार जनविरोधी, गरीबविरोधी र नारीविरोधी रहेको प्रमाण भएको एसडीएफको आरोप छ।
उनले विज्ञप्तिमा थप बताएअनुसार एसकेएम सरकारमा नारी सशक्तिकरणको पक्षमा आजसम्म न्यायसङ्गत काम शून्य बराबर छ। सामाजिक सञ्जालमा महिलालाई एकदिने मेयर घोषणा गरी ऐतिहासिक कामको नमूना देखाउन आतुरिएर आफ्नै नेतृत्वलाई अपमान गर्ने यो पार्टी नारीहरूको पक्षमा निष्पक्ष नरहेको उदाङ्गो भएको छ।
यसरी नै आफ्नो श्रम र कडा मेहनतले जीवन निर्वाह गर्दै परिवारको पालन-पोषण गर्ने श्रमिक महिलाको न्यायको पक्षमा एसकेएम पार्टीले अग्रसरता नदेखाउनु लज्जास्पद विषय रहेको सकुन गुरुङले बताएकी छन्।
“यसले एसकेएम सरकार महिलाहरूलाई न्याय दिन गम्भीर नरहेको अर्को कुरा छर्लङ्ग भएको छ”-उनले विज्ञप्तिमा भनेकी छन्।
यसैगरी एसडीएफ चेली मोर्चाले राज्यको श्रम विभागकी महिला सचिवलगायत सम्बन्धित निकायलाई महिला श्रमिकमाथि भएको अत्याचार काण्डलाई गम्भीरतापूर्वक लिन माग गरेको छ।
“आरोपीलाई कड़ा सजाय दिलाउने पक्षमा श्रमिक विभाग र श्रमिक आयोगको प्रभावकारी हस्तक्षेप हुनुपर्दछ। यद्यपि आजसम्म सम्बन्धित निकाय मौन रहेकाले महिला श्रमिक प्रीति भोटियाले न्याय पाउन सकेकी छैन। सिक्किम राज्य महिला आयोगले पनि यो काण्डलाई प्राथमिकता दिएर आरोपीविरुद्ध कारबाही गर्न अग्रसर बन्नुपर्छ”-एसडीएफ चेली मोर्चाले माग गरेको छ।
आरोपी आज निर्धक्क भएर हिँडिरहेको जनाउँदै आफ्नो गल्ती छोप्न अरूलाई सामाजिक सञ्जालमा आधारहीन कुरा राख्न लगाएको पनि एसडीएफले आरोप लगाएको छ।
“सत्ताको आड़मा हौसिएर एसकेएम पार्टीका क्षेत्रस्तरीय युवा उप-संयोजकले महिला श्रमिकमाथि गरेको हातपात र कुटपिट काण्डलाई एसडीएफ चेली मोर्चा राष्ट्रिय महिला आयोग र राज्य मानव अधिकार आयोगको पनि ध्यान केन्द्रित गराउन चाहन्छ”-एसडीएफ चेली मोर्चा महासचिव सकुन गुरुङले विज्ञप्तिमा उल्लेख गरेकी छन्।