गान्तोक, 9 जूनः मुख्यमन्त्री पीएस गोलेले सोमबार सम्मान भवनमा शिक्षा विभागसित एउटा समीक्षा बैठक गरे।
बैठकमा शिक्षा विभागका मन्त्री कुङ्गा निमा लेप्चा, अतिरिक्त मुख्य सचिव जीपी उपाध्याय, विभागका सचिव अनिलराज राईलगायत अन्य अधिकारी उपस्थित थिए।
बैठकमा विभागको मातहतमा रहेका निर्माणाधीन परियोजनाहरूका प्रगति, शिक्षा सेवा काडरको समीक्षा, शिक्षा सेवा काडरमा अधिकारीहरूको पदोन्नति, एडहक शिक्षकहरूको नियुक्ति र स्थानान्तरण, स्कूल प्रमुखहरूको पदोन्नति, आठ वर्षको सेवाकाल पूरा गरेका एडहक शिक्षकहरूको स्थायीकरण, स्कूल र कलेजहरूमा अनलाइन शिक्षाको प्रगति, समग्र शिक्षा आदिबारे विस्तृत चर्चा-परिचर्चा गरिएको थियो।
मुख्यमन्त्रीले समग्र भारतीयस्तरमा 34 प्रतिशतको तुलनामा सिक्किमका 40 देखि 45 प्रतिशत स्कूले विद्यार्थीहरू अनलाइन एवम् डिजिटल शिक्षामा समाविष्ट गर्न सकिएकोमा हर्ष व्यक्त गरे।
यसरी नै सिक्किममा 80 प्रतिशतभन्दा बढ़ी कलेजका विद्यार्थीहरूसम्म अनलाइन शिक्षा सफलतापूर्वक पुग्नसकेको बैठकमा जानकारी गराइयो।
यसअवसरमा मुख्यमन्त्रीले विभागलाई अगस्तको अन्त्यसम्ममा सबै स्कूल प्रमुखको नियुक्ति प्रक्रिया पूरा गर्न निर्देश दिए।
उनले आठ वर्ष पूरा गरेका शिक्षकहरूलाई सिक्किम राज्य शिक्षक नियुक्ति बोर्डको माध्यमबाट स्थायी गर्ने प्रक्रिया अघि बढ़ाउन पनि निर्देश दिएका छन्।
साथै राज्यका चारै जिल्लामा रिक्तताको आधारमा एनसीटीई नियमलाई कड़ाइका साथ पालन गर्दै एडहक शिक्षकहरूको नियुक्ति गर्ने साथै वास्तविक कठिनाइ भोगिरहेका एडहक शिक्षकहरूको एकपल्टलाई स्थानान्तरण गर्ने पनि उनले निर्देशन दिए। यद्यपि यसपछि भविष्यमा कुनै पनि एडहक शिक्षकको स्थानान्तरण गरिनेछैन।
उनले अभियान्तिकी प्रकोष्ठ (इञ्जिनियरिङ सेल)-लाई सबै परियोजना निर्धारित समयभित्र पूरा गर्न पनि निर्देश दिए।
बैठकमा शिक्षाको गुणस्तरीय प्रगतिका लागि वरिष्ठ अधिकारीहरूलाई लिएर डिस्ट्रिक्ट एकाडेमिक मनिटरिङ कमिटीको गठन गर्नेबारे पनि चर्चा भयो।
लामो समयसम्म स्कूल बन्द रहे तापनि विद्यार्थीहरूलाई कुनै प्रकारको कठिनाइहरू नआओस् भन्न हेतु सरकार विभागलाई सबै प्रकारका सहयोग गर्न तयार रहने मुख्यमन्त्रीले आश्वासन दिएको शिक्षा विभागका जनसम्पर्क एवम् प्रचार नोडल अधिकारी भीम ठटालद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।