पैह्रोले पुरिएर महिलाको मृत्यु

0
880

गान्तोक, 9 जूनः मङ्गलबार बेलुकी परेको मुसलधारे पानीका कारण राजधानी गान्तोकनजिकै अप्पर सिच्छेमा गएको पैह्रोले पुरिएर ४० वर्षीय एक महिलाको मृत्यु भएको छ।

माथिबाट सोह्रिएर झरेको पैह्रोले पुरिएर विमला छेत्री नाम गरेकी महिलाको मृत्यु भएको हो।

स्थानीयवासीहरूका अनुसार उक्त पैह्रो हिजो बेलुकी करिब ६ बजे झरेको हो। जानकारीका अनुसार पैह्रो झरेको समय ती महिला भान्सामा खाना बनाइरहेकी थिइन्।

पैह्रोको चपेटमा परी ज्यान गुमाएकी ती महिलाकी वृद्धा आमा पनि सामान्य घाइते भएकी छन्। उक्त पैह्रोले जी.डी. प्रधान, के.बी. सुब्बा, केशव अधिकारी र नरेन्द्र कुमार खवासका घरलाई क्षति पुऱ्याएको छ।

पैह्रोको घटनाबारे सूचना पाएलगत्तै प्रशासन राहत एवं बचाउकार्यमा जुटेको थियो।  

यसैबीच, प्रशासनले पैह्रो प्रभावित परिवारहरूका लागि स्थानीय पीएनजी स्कूलमा पुनर्वासको व्यवस्था गरेको छ।

अर्कोतिर, मुख्यमन्त्री पी. एस. गोलेले पैह्रोमा परी ज्यान गुमाउने महिलाका परिवारलाई 5 लाख र घाइतेलाई 50 हजार रुपियाँ अनुग्रह राशि दिने घोषणा गरेका छन्।

यसैबीच, आज शहरी विकास एवं आवास विभागका मन्त्रीका अरुण उप्रेतीलगायत अन्य अधिकारीहरूले पैह्रोग्रस्त क्षेत्रको भ्रमण गरी क्षयक्षतिबारे जानकारी लिएका थिए।

उल्लेखनीय छ, पछिल्ला केही दिनदेखि सिक्किममा लगातार रूपमा पानी परिरहेको छ, जसका राज्यका ठाउँ ठाउँमा साना-ठूला पैह्रोका घटनाहरू प्रकाशमा आइरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here