भारतीय हकी टीमका पूर्व कप्तान एवं गोलकीपर भरत छेत्री (फाइल छेत्री)। |
गान्तोक, 21 सेप्टेम्बर : भारतीय हकी टीमका पूर्व कप्तान एवं गोलकीपर भरत छेत्रीले यस वर्षको ध्यानचन्द पुरस्कार पाउनेछन्। युवा मामिला एवं खेल मन्त्रालयद्वारा घोषणा गरिएअनुसार यसवर्षको ध्यानचन्दका लागि भरत छेत्रीको नाम छनौट गरिएको हो। यो पुरस्कार भारतीय हकीका लागि महत्त्वपूर्ण योगदान दिने खेलाड़ीलाई प्रतिवर्ष प्रदान गरिन्छ। पुरस्कृत खेलाड़ीलाई स्मृति चिह्नसहित नगद राशि 5 लाख रुपियाँ सम्मानित गरिन्छ।
सन् 1982 –मा कालेबुङमा जन्मेका भरत छेत्री सन् 2001-मा बङ्ग्लादेशविरुद्ध अन्तरराष्ट्रिय करिअरको थालनी गरेका थिए। थुप्रैपटक सुन्दर बचाउ गरी टीमको जीतमा महत्त्वपूर्ण योगदान दिने छेत्री भारतीय हकी टीमका कप्तानसमेत बनेका थिए। उनी प्रायः 12 वर्षभन्दा अधिक समयसम्म भारतीय हकी टीमका सदस्य रहे। लन्डनमा सम्पन्न ओलम्पिक खेलमा भारतीय हकी टीमलाई उनले नै नेतृत्व गरेका थिए। उनकै कप्तानीमा मलेशियामा खेलिएको सुल्तान अजलान शाह हकी टुर्नामेन्टमा भारतले कांस्य पदक जितेको थियो।