उडिसाबाट तीन युवती उद्धार

0
998

सिलगढ़ी, 10 जूनः दुई-तीन महिना अघि घरबाट बेपत्ता भएकी तीनजना युवतीलाई कञ्चनजङ्घा उद्धार केन्द्रले उडिसाबाट उद्धार गरेको छ।

कञ्चनजङ्घा उद्धार केन्द्रकी प्रमुख रङ्गु सौरियाको अगुवाइमा गएको एक टिमले तीनैजनालाई उडिसाको बालासोर पुलिस थाना क्षेत्रबाट उद्धार गरी दुई दिनअघि सिलगढ़ी ल्याएको हो।

उद्धार गरिएका तीनजना युवतीमध्ये दुईजना सिलगढ़ी र एकजना मिरिक क्षेत्रकी रहेका छन्। उनीहरूको उमेर 19-देखि 22 वर्षबिच रहेको छ।

कञ्चनजङ्घा उद्धार केन्द्रकी प्रमुख रङ्गु सौरियाले जनसंवादलाई बताएअनुसार यी तीनैजनालाई नोकरीको प्रलोभन देखाएर उडिसा पुऱ्याइएको थियो।

लकडाउनका कारण घरमा त्यसै बसिरहन परेकाले पनि उनीहरू नोकरीका प्रलोभनमा सहजै फँसेका थिए।

“उद्धार गरेर ल्याइएका तीनजनामध्ये दुईजना विद्यार्थी छन्। पकेट खर्चका लागि उनीहरू नोकरी गर्न चाहन्थे। यसैले नोकरीको प्रलोभन सहजै फँसेर उडिसा पुगेका हुन्”, उनले थपिन्, “यिनीहरूमध्ये एकजनाको फोन ट्रेस गरेर उनीहरूको पत्तो लगाउन हामी सफल भएका हौँ। यो उद्धार कार्यमा त्यहाँका पुलिसहरूले हामीलाई सहयोग पुऱ्याएका थिए।”

2004-मा स्थापित गैर सरकारी सङ्गठन कञ्चनजङ्घा उद्धार केन्द्रले मानव तस्करूविरुद्ध लगातार कार्य गर्दै आएको छ। अहिलेसम्म यो केन्द्रले दर्जनौँलाई उद्धार गरिसकेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here