गान्तोक, 12 जूनः राजधानी गान्तोक वरपरका क्षेत्रहरूलाई अहिले लगातार पैह्रोले आफ्नो चपेटमा लिइरहेको छ।
7 जूनको बिहानै लोअर बुर्तुकको मानवीर कोलनी अवस्थित आइतमान तामाङको घरलाई पैह्रोले सोहोरेर लगेको थियो।
स्थानीयवासीको भनाइअनुसार मुसलधारे वर्षा र सड़कबाट बगेको पानीका कारण यो घटना घटेको हो।
यस पैह्रोले वरपरका अन्य घरहरूलाई पनि क्षति पुऱ्याएको छ।
घटनापछि गान्तोक नगर निगमका मेयर निलबहादुर छेत्रीलगायत जिल्ला प्रशासनबाट अधिकारीहरूले पैह्रोग्रस्त क्षेत्रको भ्रमण गरेर केही राहत सहयोग प्रदान गरेका छन्।
यस पैह्रोका यहाँ कारण निस्किएको एउटा बडेमानको ढुङ्गाले ठूलै दुर्घटना निम्त्याएको छ।
यो पल्टिएको खण्डमा गुरुङ गाउँ मुन्तिर रहेको राई गाउँका घरहरूलाई क्षति पुऱ्याउने आशङ्का बढ़ेको छ।
प्रशासनले उक्त ढुङ्गालाई चाँड़ो गरी हटाउने प्रयास भइरहेको बताएको छ।
हालमा पैह्रो प्रभावित 6 परिवार छिमेकीका घरमा आश्रय लिएर बसेका छन्।
यहाँ सड़कको अवस्था पनि एकदमै चिन्ताजनक बनेको छ। स्थानीय मानिसहरूले यो समस्या समाधान गर्न सरकार र सम्बन्धित विभागलाई चाँड़ो पहल गरिदिन आग्रह गरेका छन्।