गान्तोक, 18 जूनः पीएचई विभागमा जेई (कनिष्ठ अभियन्ता)-को पदमा कार्यरत रोजलिन सुब्बा आत्महत्या मामिलले नयाँ मोड़ लिएको छ।
यसै विभागमा कार्यरत एक 40 वर्षीय एई (सहायक अभियन्ता)-माथि रोजलिनलाई आत्महत्या गर्न उक्साएको आरोप लागेपछि उनी घरबाट फरार भएका छन्।
रोजलिन आत्महत्या मामिलामा सदर पुलिसले पहिला 174 सीआरपीसी अन्तर्गत मुद्दा दर्ता गरेको थियो भने अहिले मुद्दा परिवर्तन गरेर आईपीसीको धारा 383/306 अन्तर्गत दर्ता गरेको छ।
मृतककी एक मित्रको बयानका आधारमा मुद्दामा परिवर्तन गरिएको पुलिसले जानकारी दिएको छ।
सिक्किम पुलिसका डीआईजी रेञ्ज प्रवीण गुरुङले जानकारी दिएअनुसार रोजलिनले 3 जूनका दिन आत्माहत्या गर्न अघि गान्तोकनिवासी कथित आरोपीसँग लगभग 50 मिनट भिडियो कल गरेकी थिइन्।
अर्कोतर्फ मृतककी मित्रले आफ्नो बयानमा ती कथित आरोपीद्वारा रोजलिनमाथि लगातार मानसिक उत्पीड़न हुनेगरेको दाबी गरेको पनि डीआईजीले बताए।
उनको बयान अनुसार कथित आरोपीले रोजलिनलाई लगातार धम्काउने र ब्ल्याकमेल गर्ने गरेका थिए।
रोजलिन आत्महत्या मामिला छानबिनका क्रममा मामिला अर्कैतर्फ मोड़िएपछि आरोपित युवक फरार भएको र पुलिसले उसको खोजीकार्यमा कड़ा परिश्रम गरिरहेको डीआईजी गुरुङले थप जानकारी गराएका छन्।
घटनाको निष्पक्ष जाँच गरी न्याय दिलाउने पनि डीआईजीले रोजलिनका परिवारपक्षलाई भरोसा दिएका छन्।
उल्लेखनीय छ, रोजलिन सुब्बाले 3 जूनका दिन गान्तोकस्थित सरकारी क्वार्टरमा आत्महत्या गरेकी थिइन्।