नयाँदिल्ली, 19 फरवरी : भारतीय फूटबलका कप्तान सुनिल छेत्रीलाई फुटबल दिल्लीले पहिलो फुटबल रत्न पुरस्कारद्वारा सम्मानित गरेको छ। फुटबल दिल्लीका अध्यक्ष शाजी प्रभाकरणको बाहुलीबाट छेत्रीलाई यो पुरस्कार अर्पण गरियो। सुनिललाई यो पुरस्कार शनिबार प्रदान गरिएको हो।
उत्कृष्ट प्रदर्शन र भारतीय फुटबलका लागि दिएको उल्लेखनीय योगदानका लागि सुनिललाई यो पुरस्कारले सम्मानित गरिएको बताइएको छ। फुटबल दिल्लीका अध्यक्ष प्रभाकरण अखिल भारतीय फुटबल महासङ्घ र फिफाका प्रतिनिधि पनि हुन्।
पछिल्लो महिना मात्र सुनिल पद्मश्री पुरस्काद्वारा सम्मानित भएका थिए। सुनिल छेत्री वर्तमानका सक्रिय फुटबलरहरूमध्ये अन्तराष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने दोस्रो खेलाड़ी हुन्। उनी क्रिस्टियानो रोनाल्डोभन्दा तल र लियोनल मेस्सीभन्दा माथि छन्।
34 वर्षीय यी दिग्गज खेलाड़ीले अहिलेसम्म 67 गोल गरिसकेका छन्।
यसअवसरमा बोल्दै उनले राष्ट्रिय राजधानीमा फुटबलको विकासका लागि सकेसम्म सहयोग गर्न सधैँ उपस्थित हुने प्रतिबद्धता जताएका छन्।
‘‘फुटबल दिल्लीको यो सम्मान फुटबल रत्न पुरस्कार पाएर गौरवान्तित महसुस गरिरहेको छु। म दिल्लीमा फुटबलको विकासका लागि सधैँ उपस्थित हुनेछु’’, सुनिलले थपे ‘‘वर्तमानमा फुटबल प्रबन्धनले दिल्लीमा फुटबलको विकासका लागि मिहिनेत गरिरहेको छ। दिल्ली देशका अन्य राज्यहरूका लागि फुटबलमा आदर्श बन्नेछ भन्ने मलाई विश्वास छ।’’
पूर्व खेलाड़ी प्रभाकरनले ‘‘हामी सुनिल छेत्रीको उत्कृष्ट उपलब्धिहरूबाट प्रेरित छौं। खेलप्रतिको उनको पेशादार व्यवहार, समर्पण, अनुशासन र उत्साह फुटबलसँग सम्बन्धित मानिसहरूका लागि मात्र होइन, तर प्रत्येक भारतीयका लागि ठूलो सपना देख्न र जीवनमा केही प्राप्त गर्नका लागि एक उदाहरण हो।’’
यसअवसरमा फुटबल दिल्लीले राज्यका युवा खेलाड़ी शुभम सारङ्गीलाई पनि सम्मानित गरेको छ। शुभम आईएसएलमा दिल्ली डायनामोज टीमका सदस्य हुन्।