दार्जीलिङ, 21 जूनः दार्जीलिङको होटल विण्डामेयरले आफ्नो होटल आउँदो 5 जुलाईदेखि बन्द गर्ने घोषणा गर्दै एक नोटिस जारी गरेको छ।
होटलले यसबारे सम्बन्धित विभागलाई पनि जानकारी गराएको छ।
यो होटल बन्द हुने घोषणासँगै यस होटलका कर्मचारीहरूको भविष्यमाथि पनि कालो बादल मड़ारिन थालेको छ।
यति मात्रै होइन, होटल मालिकपक्षले यस होटलका कर्मचारीहरूलाई जून महिनाको वेतन पनि आफूहरूलाई नदिने चेताउनी दिएको कर्मचारीहरूले बताएका छन्।
यसैबिच, वेतन विषय आउँदो बिहीबार हुने त्रिपक्षीय बैठक पनि विफल भए यी कर्मचारीहरूले आफ्नो परिवारका सम्पूर्ण सदस्यहरूलाई साथमा लिएर होटलअघि भोक हड़ताल शुरू गर्ने पनि चेताउनी दिएका छन्।
घटनाका अनुसार, कोरोना सङ्क्रमणका कारण शुरू भएको लकडाउनले गर्दा होटल व्यवसाय नराम्रोघतले प्रभावित बनेको छ।
यसैकारण गत वर्षको मार्च महिनादेखि नै यस होटलले आफ्ना कर्मचारीहरूलाई 40 देखि 50 प्रतिशत मात्रै वेतन दिँदै आइरहेको थियो। यद्यपि, यस वर्षको मार्च र अप्रेल महिनामा यस होटलले सबै कर्मचारीलाई 100 प्रतिशत नै वेतन प्रदान गरेको थियो। फेरि कोरोना सङ्क्रमण अत्यधिक बढ़ेपछि मई महिनाको वेतन केवल 50 प्रतिशत मात्रै दिएको यस होटलका कर्मचारी हरिश भारतीले बताएका छन्। तर, जून महिनाको वेतन एक पैसा पनि नदिने घोषणा गरेपछि यहाँका कर्मचारीहरूले दार्जीलिङको सह-श्रमायुक्तसमक्ष मालिकपक्षविरुद्ध एक उजुरी दर्ता गरेका थिए।
यसै विषय लिएर आज सह-श्रमायुक्त कार्यालयमा त्रिपक्षीय बैठक हुने भएको थियो, जसमा कर्मचारीहरू उपस्थित भए पनि मालिकपक्षले एउटा पत्र पठाएर आजको बैठकलाई आउँदो सारिदिने सह-श्रमायुक्तसमक्ष अपील गरेको थियो। तर, त्यसै समय होटल मालिकपक्षले सह-श्रमायुक्तलाई आउँदो 5 जुलाईदेखि होटल बन्द गर्ने एउटा नोटिस पनि दिएको अनि त्यो नोटिस यी कर्मचारीहरूको हात परेको भारतीले बताए।
उनले भने, “यदि यो होटल बन्द गर्छ भने यहाँ कार्यरत रहेका सम्पूर्ण कर्मचारीलाई उनीहरूले आफ्नो जीवनको मूल अंश यस होटलको सेवामा लगाएको क्षतिपूर्ति पूर्णरूपले भुक्तान गर्नुपर्छ। यसो गर्न सक्तैन भने यस होटलका सेयर होल्डरहरू सबैलाई बोलाएर ठोस निर्णय गर्नुपर्छ।”
हरिश यस होटलमा विगत 13 वर्षदेखि कार्यरत छन् अनि उनीहरूमाथि होटल मालिकपक्षले गत वर्षदेखि नै वेतन दिनमा आनाकानी गरिरहेको बताउँदै जून महिनाको वेतन नदिने घोषणा गरेर सबैलाई अझै ठूलो समस्यामा पारेको बताए।
यस विषय लिएर दार्जीलिङको जिल्ला प्रशासन, सांसद, विधायक साथै सबैले आवाज उठाइदिनुपर्ने पनि उनले माग गरेका छन्।
उनले थपे, “यदि होटल बन्द गर्छ, वेतन दिँदैन भने हामीसित भोक हड़ताल गर्नुबाहेक अन्य कुनै विकल्प रहनेछैन।”