सांसद जोन बारलाको आवाज उत्तर बङ्गालका जनताको भावनाः निशीथ प्रमाणिक

0
924

दार्जीलिङ, 22 जूनः कोचबिहारका सांसद निशीथ प्रमाणिकले भाजपा सांसद जोन बारलाको आवाज उत्तर बङ्गालका जनताको भावना बताएका छन्। साथै जनताको भावनालाई समर्थन गर्ने बताए।

यद्यपि, सांसद प्रमाणिकले उत्तर बङ्गाललाई युनियन टेरिटोरी बनाउने जोन बारलाले राखेको मागलाई ‘बारलाको व्यक्तिगत बयान’ यसमाथि कुनै टिप्पणी गर्न चाहेनन्।

तरै पनि उनले जोन बारलाले उठाएका विविध विषयमाथि बल दिँदै राज्यको तृणमूल कङ्ग्रेस सरकारले उत्तर बङ्गाललाई धेरै अवहेलना गरेको आरोप दोहोऱ्याए।

आज (मङ्गलबार) राज्यपाल जगदीप धनखड़सित भेट गरेपछि दार्जीलिङमा पत्रकारहरूसित कुराकानी गर्दै भाजपा सांसद प्रमाणिकले भने, “उत्तर बङ्गालका मानिसहरू विभिन्न सुविधाबाट वञ्चित छन्। उत्तर बङ्गालका राजवंशीदेखि गोर्खा, आदिवासी सबै अवहेलित अवस्थामा छन्। बङ्ग्लाभाषीहरू पनि यहाँ अवहेलित छन्।”

उनका अनुसार उत्तर बङ्गालमा राज्य सराकारद्वारा विकास कुनै कार्य गरिएको छैन। साथै जहिल्यै उत्तर बङ्गाललाई राज्य सरकारले सानीआमाको जस्तो व्यवहार गरिरहेको छ।

यसपालिको विधानसभा चुनाउमा बङ्गालका जनताले तृणमूल कङ्ग्रेसलाई मत दिए पनि उत्तर बङ्गालका जनताले भाजपालाई समर्थन जनाएको स्पष्ट भएको पनि प्रमाणिककले बताए।

यसैकारण पछिल्लो 10 वर्षसम्म ममता ब्यानर्जीको आचरण उत्तर बङ्गालमाथि जति नकारात्मक थियो, त्यो आचरणमा दोब्बर नकारात्मकता बढ़ेर गएको उनको आरोप छ।

“हाल उत्तर बङ्गालका जनता, यहाँको अर्थनीति, सामाजिक स्थिति लथालिङ्गै भएर गइसकेका छन्। उत्तर बङ्गालका बेरोजगार युवक-युवतीहरू कामको खोजीमा गुजरात, दिल्ली, राजस्थान आदि राज्यतिर पलायन बन्न परिरहेको छ”, कोचबिहारका सांसद निशीथ प्रमाणिकले थपे, “राज्य सरकारले दक्षिण बङ्गालको मात्रै विकास गर्ने कार्य गरिरहेको छ। तर, राज्यले दक्षिण बङ्गालसँगै उत्तर बङ्गालको पनि विकास गरेको उचित हुनेछ। भाजपाले सबैसँग मिलेर काम गर्न चाहन्छ।“

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here