सिक्किमले विश्वलाई विकासीय, जैविक र पवित्र तीन क्रान्ति दियो: चामलिङ

0
960

गान्तोक, २३ जूनः कोरोना महामारी अनि त्यसको रोकथामका लागि लकडाउन जारी रहेकाले बाह्य राजनीतिक गतिविधिहरू सञ्चालन गर्न नसकिरहेको भए पनि सिक्किमको विपक्षी पार्टी सिक्किम डेमोक्रेटिक फ्रण्टले आन्तरिक सक्रियता जारी राखेको छ।

कोरोनासित सङ्घर्ष गर्न आफूपक्षीय चिकित्सकहरूलाई औषधि, पौष्टिक सामग्रीहरू लिएर गाउँ गाउँ पठाउनको साथै निरन्तर लम्मिँदो लकडाउनका कारण चर्को आर्थिक चपेटामा परेका निम्न आयवर्गका जनतालाई पार्टीको तर्फबाट खाद्यसामग्रीहरू वितरण कार्य गरिरहेको देखिन्छ।

लकडाउनका कारण खुल्ला रूपमा साङ्गठनिक गतिविधि गर्न नसके पनि भर्चुअल रूपमा पार्टीले निरन्तर चर्चा-परिचर्चा, पार्टी पुनर्गठन आदि कार्यहरू गरिरहेको छ।

यसै क्रममा हिजो २२ जूनका दिन पार्टीले भर्चुअल रूपमा २९औँ क्रान्ति दिवस पालन गऱ्यो।

बिहानैदेखि राज्यभरिका पार्टी नेता, कार्यकर्ता तथा समर्थकहरूले सम्बोधन राख्दै शुरू भएको यस कार्यक्रममा अन्त्यमा पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले कारयकर्ताहरूलाई सम्बोधन गरे।

३०औँ क्रान्ति दिवसको उपलक्ष्यमा एसडीएफ अध्यक्ष पवन चामलिङले सम्पूर्ण सिक्किमे जनतालाई बधाई तथा शुभकामना जनाउँदै उनले क्रान्तिको सान्दर्भिकतामाथि प्रकाश पार्नका साथै एसडीएफ पार्टीले सिक्किम र सिक्किमेली जनताको पक्षमा ल्याएको क्रान्तिको वास्तविक महत्त्वलाई बुझाए।

यही प्रसङ्‌गमा उनले सिक्किमको ऐतिहासिक घटनाक्रमको उठान गर्दै एसडीएफ सरकार आउनअघि राज्यवासीले प्रजातान्त्रिक अधिकारलाई उपभोग गर्न नपाएको तथा जनता शासित बनेर बाँच्नपरेको सत्यतालाई साझा गरे।

एसडीएफ पार्टीको क्रान्तिको उद्देश्य नै सिक्किमे जनतालाई शान्ति, सम्मान, हक-अधिकार दिनु रहेको तथा सम्पूर्ण सिक्किमे जनता शासक बनेर बाँचून् भन्ने रहेको बताए।

एसडीएफ अध्यक्ष चामलिङले आफ्नो सम्बोधनमा २२ जून, १९९३ –को दिन आफू भूमिगत हुनुपरेको बताउँदै सिक्किमको इतिहासमा कुनै नेताले जनताको कजका लागि भूमिगत हुनुपरेको यो एक्लो घटना रहेको पनि जानकारी दिए। आफूले सधैं जनताको कज निम्ति राजनीति गरेको, सिक्किम र सिक्किमेली जनता सधैँ हाँसून् र सिक्किम सधैँ बाँचोस्‌ भनेर राजनीति गरेको बताउँदै आफू सधैँ सिक्किमे जनताको सपनासँग जोड़िएको मान्छे हो भनी बताए।

सिक्किमे जनताको पहिचान र मर्यादालाई सम्मानित बनाइराख्नु, विकसित सिक्किम बनाउनु आफ्नो राजनीतिक कज् रहेको चामलिङले थपे। साथै आफूले सिक्किमको कजसँग कहिल्यै सम्झौता नगरेको पनि दावी पनि उनले गरे।

यसरी नै उनले सम्पूर्ण युवावर्गलाई सिक्किम र सिक्किमेली समाज, मानव समाज तथा विश्वलाई केही दिएर जानुहोस्‌ भनी आग्रह गरे।

राजनीति व्यक्तिगत महत्त्वाकाङ्‌क्षा पूरा गर्ने माध्यम नभएर राजनीति जनाकांक्षा पूरा गर्ने क्रान्ति हो भनी बताउँदै एसडीएफ अध्यक्षले क्रान्ति भनेको सबै अन्धकारलाई मेटाउने, सबै सङ्‌कीर्णतालाई हटाउने, भौतिक र मानसिक विकारहरूलाई धुलिसात गर्ने उज्यालो ज्योति हो, सिक्किमे जनतालाई साँचो बाटो देखाउनु क्रान्ति रहेको बताए।

२९औँ क्रान्ति दिवसको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्षले आफूले जीवनको ४० वर्षको प्रमुख समय सिक्किम र सिक्किमेली जनतालाई समर्पित गरेको बताउँदै आफूले सिक्किम बनाउन र सिक्किमेली जनताको हक, अधिकारको सुरक्षाका निम्ति गरेको सङ्‌घर्षलाई पनि साझा गरे।

उनले एसडीएफ पार्टीको क्रान्तिको मूल मर्म खोतल्दै सिक्किम र सिक्किमेली जनताका हक-अधिकारको सुरक्षा नै एसडीएफको क्रान्तिको आधार रहेको दावी गरे।

यसका साथै चामलिङले सिक्किमले प्राप्त गरेको समृद्धि, मान, सम्मान र प्रतिष्ठा, विकास, सुख, शान्ति सबै एसडीएफ पार्टीले गरेको क्रान्तिको प्रतिफल बताए।

सम्बोधनको क्रममा उनले सिक्किमले विश्वलाई विकासीय क्रान्तिबाहेक जैविक कृषिजस्तो भविष्यको कृषि नीति दिनुसँगै दार्शनिक रूपमा पवित्र क्रान्तिको दर्शन पनि सिक्किमले दिएको बताए।

पवित्र क्रान्तिले समेटेको दर्शनमाथि प्रकाश पार्दै चामलिङले थपे, “पवित्र क्रान्ति भनेको प्रकृतिको नियमलाई पालन गर्नु हो; जन्मदेखि मरणसम्मको यात्रालाई सहज बनाउन, खुशी, आनन्द, शान्तिले पूर्ण बनाउन तथा मानिसलाई भित्रदेखि उज्यालो बनाउनु पवित्र क्रान्ति हो; मान्छेलाई मान्छेजस्तो बनाउनु, मान्छेभित्र हराएको मान्छेलाई खोज्नु पवित्र क्रान्ति हो।”

ज्ञानसम्मत् विचार र दर्शनले समृद्ध सम्बोधन दिने क्रममा एसडीएफ अध्यक्षले पार्टीका नेतृत्व र कार्यकर्ताहरूलाई कजका लागि राजनीति गर्न निडर र साहसी बन्न अपील गरे।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्षगण के.एन. राई, जी.एम. गुरुङ र दाउछो लेप्चाले पनि क्रान्ति दिवसको महत्त्वसँगै पार्टीप्रतिको आफ्नो मन्तव्य राखे भने एसडीएफ पार्टीका युवा नेतृत्व वीरजन तामाङ, सुश्री मनमाया गजमेर, अर्जुन छेत्री, साङ्‌गे भोटिया, सुश्री वन्दना भट्टराई, जीवन सुब्बा आदिले पनि आफ्ना मन्तव्य राखे।

कार्यक्रममा उत्तर जिल्ला चेली मोर्चा महासचिव श्रीमती कर्म अङ्‌मु भोटियाले स्वागत भाषण, पूर्व जिल्ला कार्यकारिणी समिति अध्यक्ष कर्म टाशी भोटियाले धन्यवाद ज्ञापन गरे भने कार्यक्रम मोडरेटर प्रशासनिक मामिला महासचिव आमोस आर लेप्चाले गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here