दार्जीलिङ, 23 जूनः उत्तर बङ्गाललाई छुट्टै राज्य बनाउने भाजपा सांसद जोन बारलाको मागलाई गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पहिलो खेमाका अध्यक्ष विमल गुरुङले उचित बताएका छन्। तर, यो माग केवल राजनीतिक फाइदा उठाउनका लागि मात्र नहोस् भन्ने पनि गुरुङको भनाइ छ।
यसका साथै उनले जोन बारला वा भाजपाले राजनीतिक फाइदाका लागि मात्र उत्तर बङ्गाललाई छुट्टै राज्य बनाउने माग उठाए हुनसक्ने उनले शङ्का गरेका छन्।
“यदि देशका प्रधामन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहहरूले पनि उत्तर बङ्गाल राज्य गठनका लागि स्पष्ट कुरा गर्छन् भने त्यसलाई सहस्र स्वीकार गर्न सकिनेछ। गोर्खा जनमुक्ति मोर्चाले भाजपालाई 2009-देखि नै साथ दिएको हो, भाजपाले आफ्नो चुनावी घोषणा पत्रमा समेत गोर्खा, आदिवासी वा दार्जीलिङको लागि स्थायी राजनैतिक समाधान गर्ने विषय उल्लेख गरेको थियो”, गुरुङले थपेका छन्, “तर अहिलेसम्म पनि केन्द्रको भाजपा नेतृत्वावधीन सरकारले गोर्खा जातिलाई एउटा सिन्कासमेत दिएन। यसैले भाजपा सांसदको उत्तर बङ्गाल राज्य बनाउने माग केवल राजनीतिक फाइदा उठाउनका लागि गरिएको हो भन्ने लागेको छ।”
यसैकारण दार्जीलिङ पहाड़का अन्य क्षेत्रीय राजनीतिक पार्टीहरूलाई पनि भाजपाको यस्तो मागमा सतर्क रहने विमलको आह्वान छ।
उल्लेखनीय छ, हाल अलिपुरद्वारका भाजपा सांसद जोन बारलाले उत्तर बङ्गाललाई छुट्टै राज्य वा युनियन टेरिटोरी बनाउनुपर्ने माग गरिरहेका छन्।
यति मात्रै होइन, बाँकुड़ाको विष्णुपुरका भाजपा सांसद सौमित्र खानले पनि जङ्गल महल राज्य बनाउने माग उठाएका छन्।
यसपछि राज्यको सत्तारूढ़ दल तृणमूल कङ्ग्रेस निकै चापमा पर्न थालेको छ।
यसै विषय लिएर आज तृणमूल कङ्ग्रेस नेता एवं सिलगढ़ी नगरनिगमको बोर्ड अफ् एड्मिनिस्ट्रेटर्सका चेय़रमेन गौतम देवले भाजपाले उत्तर बङ्गाललाई पश्चिम बङ्गालबाट अलग गराउन दिल्लीबाटै षड़यन्त्र शुरू गरेको आरोप लगाएका छन्।
यति मात्रै होइन, उनले वर्तमान समयमा राज्यका राज्यपाल जगदीप धनखड़ले दार्जीलिङको राजभवनलाई भाजपाको शाखा कार्यालय जस्तो बनाएको पनि गम्भीर आरोप लगाएका छन्।
आज तृणमूल कङ्ग्रेस नेता गौतम देवले यस्तो आरोप लगाउँदै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले उत्तर बङ्गाललाई विकासको नयाँ दिशा देखाउन थालेपछि भारतीय जनता पार्टीले उत्तर बङ्गाललाई बङ्गालबाट अलग गराउने षड़यन्त्र गरिरहेको उनको आरोप छ।
“ममता ब्यानर्जीले यस क्षेत्रमा शान्ति वातावरण ल्याउने कार्य गरेकी छन्, जहाँको शान्ति भङ्ग गर्ने उद्देश्यले नै भारतीय जनता पार्टीले बङ्गभङ्गको षड़यन्त्र गरिरहेको छ”, गौतम देवको आरोप छ।