गान्तोक, 25 जूनः नेपाली साहित्य परिषद्, सिक्किमले यस वर्षको भानु पुरस्कार भाषासङ्ग्रामी एवं जातिसचेतक दिलकुमारी भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ।
नेपाली साहित्य परिषद्ले आज दिएको जानकारीका अनुसार नेपाली भाषालाई भारतीय संविधानको आठौँ अनुसूचीमा अन्तर्भुक्त गराउन अमूल्य योगदान दिने भाषा, साहित्यसेवी दिलकुमारी भण्डारीलाई यस वर्षको भानु पुरस्कार प्रदान गरिनेछ।
नेपाली साहित्य परिषद्ले 1985-देखि नेपाली भाषा-साहित्यको दीर्घकालदेखि सेवा पुऱ्याउँदै आउने भाषा-साहित्यसेवीहरूलाई प्रत्येक वर्ष भानु जयन्तीको अवसरमा भानु पुरस्कारले विभूषित गर्दै आइरहेको छ।
यस सन्दर्भमा प्रतिष्ठित भानु पुरस्कारको महत्त्व र विशेषतालाई उच्चता प्रदान गर्दै परिषद्ले वर्ष 2013-देखि नयाँ नियमावलीको आधारमा पुरस्कृत व्यक्ति चयन गर्दै आएको छ।
परिषद्ले आज एउटा प्रेस विज्ञप्ति जारी गरेर भनेको छ- वर्ष 2021-को भानु पुरस्कार प्रदान गर्नका लागि परिषदद्वारा दुई चरणमा गठित सूची समिति र अध्ययन समितिको चयन तथा सिफारिसको आधारमा यस वर्ष (2021)- को भानु पुरस्कार गान्तोकनिवासी भाषा-साहित्यका वरिष्ठ सेवी तथा नेपाली भाषालाई भारतीय संविधानको आठौँ अनुसूचीमा अन्तर्भुक्त गराउनमा अमूल्य योगदान पुर्याउने भारतीय नेपाली भाषीहरूका आदर्श व्यक्तित्व श्रीमती दिलकुमारी भण्डारीलाई प्रदान गर्ने निर्णय लिएको छ।‘
विज्ञप्तिमा थप भनिएको छ -उक्त प्रतिष्ठित पुरस्कार आदिकविको 207औँ जन्म जयन्ती समारोहको उपलक्ष्यमा आगामी 13 जुलाई 2021 का दिन गान्तोकमा प्रदान गर्ने प्रबन्ध परिषद्ले मिलाइरहेको भए पनि राज्यमा कोविड 19-को अवस्था र यससम्बन्धी सरकारको आचारसंहितालाई ध्यानमा राख्दै पुरस्कार अलङ्कारण समारोहको उचित मिति तय गरिनेछ। पुरस्कारको रूपमा प्रशस्ति-पत्र,अङ्गवस्त्र र ताम्र-पत्रसहित नगद राशि प्रदान गरिनेछ।