क्रामाकपाले भेट्यो राज्यपाल, गोर्खाल्याण्ड छोड़ेर बङ्गालभित्रका कुनै व्यवस्था नमान्ने

0
1002

दार्जीलिङ, 25 जूनः 113 वर्षदेखि उठिरहेको छुट्टै राज्यको मागलाई नै केन्द्र सरकारले प्राथमिकता दिनुपर्छ भन्ने क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-को माग छ।

यसै मागलाई केन्द्र सरकारसमक्ष पठाउने उद्देश्य बोकेर आज (शुक्रबार) क्रामाकपाले राज्यपाल जगदीप धनखड़सित भेट गऱ्यो।

क्रामाकपाको प्रतिनिधि टोलीले राज्यपालअघि छुट्टै राज्य गोर्खाल्याण्डबाहेक अन्य कुनै पनि व्यवस्था नमान्ने विषयमाथि पनि जोड़ दिएको पार्टी अध्यक्ष राई साथै पार्टी नेतृत्व अरूण घतानीले बताए।

यसैबिच, पार्टीले यहाँको चोकबजारमा व्यापक पोस्टरिङ गरी बङ्गालभित्रका कुनै व्यवस्था नमान्ने, गोर्खा जातिको राष्ट्रिय चिह्नारी तथा राजनीतिक सुरक्षाका लागि गोर्खाल्याण्डको गठन हुनैपर्छ भन्ने माग पनि दोहोऱ्याएको छ।

आज राज्यपालसित भेट गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै पार्टी अध्यक्ष एवं पूर्व सांसद आरबी राईले भने, ”जीटीए, पञ्चायत चुनाउबिना नै सञ्चालन भइरहेका छन्। हाल देशमा भाजपाको सरकार चलिरहेको छ, तर महँगाइ व्यापकरूपले बढ़िरहेको छ। भाजपा क्रामाकपाको साथी पार्टी भए पनि यसप्रकारको क्रियाकलापको विरोध नै गर्छ। पेट्रोलको मूल्य प्रतिलिटर 100 रुपियाँभन्दा पनि अधिक भइसकेको छ। यसप्रकारको मूल्य वृद्धिमाथि केन्द्र सरकारले शीघ्र हस्तक्षेप गर्न आवश्यक छ। पेट्रोल, डिजल आदिको मूल्य वृद्धिले सबै चीजको मूल्य बढ़्छ, तर आम जनताको आय बढ़ेको छैन। यसैले वर्तमान केन्द्र सरकारको अर्थनीतिको क्रामाकपाले विरोध नै गर्छ।”

यसरी नै गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चा नेता अरुण घतानीले बङ्गालमा विधानसभा चुनाउपछि राजनीतिक हिंसा बढ़िरहेको विषयमाथि चिन्ता गरे।

यसका साथै उनले गोर्खा जातिको राजनीतिक सुरक्षा अनि जातीय चिह्नारीका लागि छुट्टै राज्य गोर्खाल्याण्डको गठन हुनपर्छ भन्ने विषयमाथि पनि आज पार्टीको प्रतिनिधि टोलीले राज्यपालसित चर्चा गरेको बताए।

यद्यपि, गोर्खा जातिको चिह्नारीका लागि भाजपाका युवा सांसद राजु विष्टलाई अघि लाएर काम गर्न लगाइएको पनि घतानी बताए।

उनले भने, “हाल उत्तर बङ्गाललाई पनि छुट्टै राज्य दिनुपर्छ भन्ने माग उठिरहेको छ। तर, केन्द्र सरकारले 113 वर्षदेखि उठिरहेको अलग राज्यको मागलाई प्राथमिकता दिनुपर्छ भन्नेबारे राज्यपालसमक्ष कुरा राखिएको छ।”

पार्टी अध्यक्ष आरबी राईको नेतृत्वमा राज्यपाललाई भेट्न गएको टोलीमा अरुण घतानी र नर्बु लामा पनि थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here