गान्तोक, 25 जूनः सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-ले आज राज्यभरि पृथ्वीलाई दश मिनट (टेन मिनट्स टु अर्थ) कार्यक्रम पालन गऱ्यो।
राज्यव्यापी रूपमा आयोजन गरिएको यस कार्यक्रमका अवसरमा पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङ दक्षिण सिक्किमको नाम्ची-सिङ्गिथाममा आयोजित पृथ्वीलाई दश मिनट कार्यक्रममा सहभागी बनी टिफिन डाँड़ामा बिरुवा रोपे।
यस कार्यक्रममा चामलिङकी धर्मपत्नी टीकामाया चामलिङको पनि सहभागिता रहेको थियो।
एसडीएफ पार्टी मुख्यालय गान्तोकमा पनि यो कार्यक्रम पालन गरियो।
यसबाहेक विभिन्न निर्वाचन क्षेत्रमा पार्टी तथा व्यक्तिगत स्तरबाट पृथ्वीलाई दश मिनट पालन गरी सरसफाइ तथा बिरुवा रोपन कार्यक्रम आयोजन गरियो।
यसअवसरमा पत्रकारहरूलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री चामलिङले 2009-देखि एसडीएफ पार्टीले यो कार्यक्रम शुरु गरेको बताए।
उनले भने, “हामीले सरकारमा हुँदा शुरु गरेको यो कार्यक्रम पार्टीले अहिलेसम्म निरन्तर सञ्चालन गरिरहेको छ। हामी सरकारमा हुँदा कम्तीमा हामीले 50 लाख बिरुवा रोपिएका थिए। र, आजसम्म पनि हामीले यसलाई निरन्तरता दिइरहेका छौं।”
यस वर्ष पृथ्वीलाई दश मिनट कार्यक्रम सिक्किममा मात्र नभएर सिक्किमबाहिर दार्जीलिङमा पनि भइरहेको चामलिङले बताए।
उनका अनुसार विश्वमा पनि केही देशमा आजदेखि यो कार्यक्रम शुरु भइरहेको छ।
“पर्यावरण सुरक्षाको एउटा सन्देशका रूपमा यसलाई विश्वमा पुर्याउन हामी सफल भएका छौँ। र सारा संसारका मानिसलाई यो कार्यक्रम के हो भन्ने थाहा भइसकेको छ”, एसडीएफ अध्यक्ष पवन चामलिङले थपे, “सबैलाई पर्यावरणबिना जीवन र जगतको सुरक्षा हुँदैन भन्ने थाह भएको छ किनभने जीवन र जगत पर्यावरणमाथि नै निर्भर गर्छ। त्यसकारण पर्यावरणको सुरक्षा गर्नु भनेको सबै मानिस र सबै प्राणीको सुरक्षा गर्नु हो।“