दार्जीलिङ नगरपालिकामा हड़ताल गर्ने चेताउनी

0
1054

दार्जीलिङ, 27 जूनः दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठनले आगामी केही समयभित्रै दार्जीलिङ नगरपालिकामा आम हड़ताल गर्ने चेताउनी दियो।

अब दार्जीलिङ नगरपालिकाका कर्मचारीहरू भोक हड़ताल, धरनामा नजाने, सोझै आम हड़तालमा जाने भएका छन्।

“विगतमा हामीले जे जति गऱ्यौँ-गऱ्यौँ। सम्झौता गर्नुपर्ने ठाउँमा सम्झौता पनि गऱ्यौँ, कलकत्ता पनि गयौँ। तर, केही भएन। यसैले अब यी कर्मचारीवर्गका साथै दार्जीलिङका आम जनताको समस्या समाधान गर्नका लागि शीघ्र दार्जीलिङ नगरपालिकामा बोर्ड गठन नभए, नगरपालिकामा आम हड़ताल नै गर्ने निर्णय गरेका छौँ”, दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठनका अध्यक्ष अनुप छेत्री र सहसचिव प्रणय शर्माले बताएका छन्।

हड़तालमा अत्यावश्यक सेवाहरू पनि सामेल रहने उनीहरूले बताएका छन्।

विशेष दार्जीलिङ नगरपालिकामा बोर्ड नभएको कारण नगरपालिकाका कर्मचारीहरूले धेरै सङ्कटको सामना गर्न परिरहेको उनीहरूले बताएका छन्।

उल्लेखनीय छ, दार्जीलिङ नगरपालिकाको पुरानो बोर्डको विरोधमा विमल गुरुङपन्थी गोजमुमो समर्थित केही नगरपार्षद्ले अविश्वास मत प्रमाणित गर्ने माग गर्दै तत्कालीन नगरपालिका अध्यक्षको विरोधमा आवाज उठाउन थालेपछि नै दार्जीलिङ नगरपालिकामा विवाद चर्किएपछि यसमाथि हस्तक्षेप गर्दै राज्य सरकारको निर्देशमा बोर्ड अव् एड्मिनिस्ट्रेटरको गठन गरिएको थियो।

त्यसपछि हालसम्म दार्जीलिङ नगरपालिकाको देखरेखको जिम्मेवारी दार्जीलिङका महकुमा अधिकारीमाथि छ। तर, दार्जीलिङ नगरपालिकाका कर्मचारीहरूका विविध समस्या विषय लिएर सम्बन्धित विभागमा जाँदा बोर्ड खोज्ने कार्य गरिएको पनि यी कर्मचारी सङ्गठनका प्रतिनिधिहरूले बताएका छन्।

यसैले कर्मचारी सङ्गठनले दार्जीलिङ नगरपालिकाको शीघ्र चुनाउ गराएर यहाँ बोर्ड गठन गर्नुपर्ने माग उठाएको हो।

सङ्गठनका सहसचिव प्रणय शर्माले भने, “दार्जीलिङ नगरपालिकामा बोर्ड नभएको कारण आम जनताले पनि दुःख पाइरहेका छन्। एउटा रेसिडेन्सियल सर्टिफिकेटका लागि पनि यहाँका नागरिकहरूले दुःख पाइरहेका छन्। यदि निर्वाचित नगरपार्षद् रहेको खण्डमा मानिसहरूलाई यस्तो समस्या हुनेछैन।”

यसैले दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठनको यस निर्णयलाई दार्जीलिङका जनताले पनि सहयोग प्रदान गर्छ भन्ने आशा गरिएको उनीहरूले बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here